काठमाडौँ । हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व रामनवमी आज देशभर धुमधामसाथ मनाइँदैछ। मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सवको अवसरमा देशका प्रमुख राम मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ।
यसैसाथ खोटाङको हलेसीमा १५ दिने मेला शुरू भएको छ भने सीताको जन्मभूमि जनकपुरधाममा भगवान् रामको जन्मोत्सव मनाउने यस पर्वमा नेपाल र भारतबाट आएका हजारौं श्रद्धालु, साधु-सन्त, तीर्थयात्री र स्थानीय भक्तजनले जनकी मन्दिर र प्राचीन राम मन्दिरमा पूजा-अर्चना, भजन-कीर्तन र सांस्कृतिक कार्यक्रमसहित उत्सव मनाएका छन्।
राम मन्दिरहरूमा भीड
बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति क्षेत्रको राम मन्दिर, गोकर्णेश्वर नगरपालिकाको आरुबारीस्थित राम मन्दिर लगायत राजधानी र अन्य जिल्लाका मन्दिरहरूमा बिहानैदेखि भक्तजनले पूजा अर्चना गर्ने घुइँचो लगाएका छन्। बत्तीसपुतली मन्दिर व्यवस्थापन समितिका सचिव वसन्त खड्काले बताएअनुसार, मन्दिर बिहान ४ बजेदेखि खुला गरिएको थियो। नेपालका चर्चित कलाकारहरूले भक्तिसङ्गीत प्रस्तुत गरेका छन्। सीताको जन्मभूमि जनकपुरधाममा आज मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मजयन्ती "रामनवमी" महोत्सव धूमधामसँग मनाइँदैछ।
जनकपुरधामको राम मन्दिरमा आयोजित महोत्सवमा विशेष पूजा, रामायण पाठ, रामचरितमानसको कीर्तन र मिथिलाञ्चलको पारम्परिक जन्मसंस्कार गीतहरू प्रस्तुत गरिएको छ।
हलेसीमा मेला, संस्कृति र पर्यटनको समन्वय
खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला शुरू भएको छ। यस अवसरमा भारत, चीन, भुटान लगायतका देशबाट पनि दर्शनार्थी आउने गरेका छन्। मेलाको व्यवस्थापनका लागि स्वयंसेवक र प्रहरी तैनाथ छन्। हलेसी मन्दिरका मूल पुजारी गोपाल गिरीले बताएअनुसार रातभरि जाग्राम र महादेवको गहना पहिराउने परम्परा रहेको छ। मेलाबाट करोडौंको आर्थिक गतिविधि हुने अपेक्षा छ।
रामनवमीको अवसरमा खोटाङका बराहपोखरी, मझुवागढी जस्ता पर्यटकीय स्थलहरूमा पनि मेला लागेको छ। नेपालीहरूले धार्मिक पर्वलाई सामाजिक सद्भाव र आध्यात्मिक अभ्युदयको अवसरका रूपमा मनाउने चलन रहेको छ।
सुरक्षा व्यवस्था: यातायात चुनौती
हलेसीमा सीसी क्यामेरा र सौर्यबत्ती जडान गरिएको छ। जिल्ला प्रशासनले मेलामा अनियमितता नहोस् भनेर तीनवटा सुरक्षा टोली तैनाथ गरेको छ। हलेसी आउने भक्तजनको सङ्ख्या बढेपछि पार्किङ समस्या देखिएको छ। मध्यपहाडी लोकमार्ग कालोपत्र भएकाले यातायात सुविधा बढेको समितिले जनाएको छ।हलेसीमा सीसी क्यामेरा र सौर्यबत्ती जडान गरिएको छ। जिल्ला प्रशासनले मेलामा अनियमितता नहोस् भनेर तीनवटा सुरक्षा टोली तैनाथ गरेको छ। हलेसी आउने भक्तजनको सङ्ख्या बढेपछि पार्किङ समस्या देखिएको छ। मध्यपहाडी लोकमार्ग कालोपत्र भएकाले यातायात सुविधा बढेको समितिले जनाएको छ।
जनकपुमा भने कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनले गर्दा यस वर्ष धेरै भारतीय र नेपाली श्रद्धालुहरू जनकपुर आएका छन्। जनकपुरधाम उपमहानगरपालिका–३ का वडाध्यक्ष दीपेन्द्र साहले बताएअनुसार, "यातायात सुविधा बढेपछि दर्शनार्थीको सङ्ख्या पनि बढेको छ। हामीले सुरक्षा, स्वच्छता र शान्ति व्यवस्था कायम गर्न पूर्ण तयारी गरेका छौं।"
रामनवमीको धार्मिक पृष्ठभूमि
त्रेतायुगमा आजैको दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्याको कोखबाट भगवान विष्णुको सातौँ अवतार रूपमा श्रीरामको जन्म भएको मानिन्छ। यस दिन व्रत बसेर रामायण पाठ, कीर्तन र पूजा गर्नाले मोक्ष प्राप्ति हुने विश्वास रहेको छ। मिथिलामा श्रीरामलाई ज्वाइँको रूपमा पनि सम्मान गरिन्छ।
आजनै चैत्र शुक्ल नवमीमा वासन्ती नवरात्रको अन्त्य भएको छ। देवी मन्दिरहरूमा चण्डी पाठ र विशेष पूजा आयोजना गरिएको छ। चैती दशहरा पनि भनिने यस दिन देवी प्रतिमा विसर्जन गरिन्छ।
जनकपुर मन्दिरका महन्त रामतपेश्वर दास वैष्वले बताएअनुसार "त्रेतायुगमा आजैको दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्याको घरमा भगवान् रामको जन्म भएको थियो। उनका जीवनले मानिसलाई सत्य, धर्म र मर्यादाको पाठ सिकाउँछ।" उहाँले यस अवसरमा मन्दिर परिसरमा झाँकी, शोभायात्रा र साँझमा बधाई गीतसहित सांस्कृतिक कार्यक्रम हुने पनि जानकारी दिए ।
महोत्सवमा उपस्थित विद्वान् र धर्मगुरुहरूले रामराज्यलाई आदर्श शासन प्रणालीको रूपमा प्रस्तुत गरे। उनीहरूको भनाइअनुसार, रामले देशभक्ति, पितृ-मातृ भक्ति, प्रजावत्सलता र नैतिकताको उदाहरण बनेर समाजलाई मार्गदर्शन गरेका थिए। आज पनि सुशासन र लोककल्याणको लागि "रामराज्य" शब्दले नै आदर्श व्यवस्थालाई परिभाषित गर्छ।
उपराष्ट्रपतिको शुभकामना
उपराष्ट्रपति रामसहायप्रसाद यादवले रामनवमीले समाजमा शान्ति, सद्भाव र न्यायको सन्देश दिने बताए। उनले श्रीरामको आदर्श, सत्य र धर्मलाई आत्मसात गर्न आह्वान गर्दै यस पर्वलाई राष्ट्रिय एकताको प्रेरणाको रूपमा लिनुपर्ने जोड दिए। राससको सहयोगमा