काठमाडौं । चीनले सन् २०२५ लाई ‘नेपाल भ्रमण वर्ष’का रूपमा मनाउने घोषणा गरे पनि त्यहाँबाट नेपाल आउने पर्यटकको संख्यामा भने खासै वृद्धि देखिएको छैन । नेपालमा ५ लाख पर्यटक पठाउने भनिएको भ्रमण वर्षको शुरूका २ महीनामा जम्मा १६ हजार ४७४ चिनियाँ पर्यटक नेपाल आएको तथ्यांक छ । पर्यटकको संख्या अपेक्षाकृत बढ्न नसकेपछि अहिले चिनियाँ पर्यटक लक्षित व्यवसाय गर्दै आएका ट्राभल्स कम्पनीहरू चिन्तित छन् ।
सन् २०२५ को पहिलो महीना जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल आएकोमा चिनियाँको संख्या ८ हजार १९१ थियो । यो संख्यामा फेब्रुअरीमा भने झीनो सुधार देखिएको छ ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पर्यटक आगमनसम्बन्धी तथ्यांकअनुसार फेब्रुअरीमा ८ हजार २८३ चिनियाँ नेपाल छन् । सन् २०२४ को पहिलो २ महीनामा चीनबाट १६ हजार ४४७ पर्यटक आएका थिए । सन् २०२४ को जनवरीमा ७ हजार २६७ र फेब्रुअरीमा ९ हजार १८० पर्यटक आएका हुन् ।
यस्तै चीनमा ‘नेपाल भ्रमण वर्ष २०२५’ मनाउँदा त्यहाँबाट आउने पर्यटक संख्या बढ्ने आशमा रहेका व्यवसायी यो संख्यामा सन्तुष्ट छैनन् । चिनियाँ पर्यटक नेपाल ल्याउने मुख्यमध्येको एक ट्राभल कम्पनी साथी नेपाल टुर्स एन्ड ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किशोरराज पाण्डेले भ्रमण वर्षको शुरूका २ महीनामा आएका चिनियाँको संख्या विगत वर्षकै जस्तो भएको टिप्पणी गरे । ‘चिनियाँ राजदूतले ५ लाख चिनियाँ पर्यटक यो वर्ष पठाउने भन्दै आएका छ,’ पाण्डेले भने, ‘गतवर्षभन्दा त यो वर्ष संख्या बढ्नैपर्ने हो, तर नबढेपछि राम्रो संकेत देखिएन ।’
भ्रमण वर्ष मनाउने घोषणा गरिएको यस अवधिमा पर्यटक आगमन ह्वात्तै नबढे पनि विगत वर्षभन्दा सुधार हुनुपर्नेमा कतै न कतै चुकेको उनको भनाइ छ । प्रचारप्रसार नपुगेर, चिनियाँ अर्थतन्त्र सहज नभएर वा अन्य कारणले आगमन अपेक्षाकृत बढ्न नसकेको हुन सक्ने उनको अनुमान छ । अर्काेतर्फ नेपाल आएका चिनियाँ पर्यटक स्वदेश फर्किसकेका छैनन् । बाटोघाटो र उडान संख्या कम हुँदा चिनियाँको नेपाल बसाइ लम्बिँदा उनीहरूले स्वदेश पुगेर नेपालको प्रचारप्रसार गर्न नपाएको पाण्डे बताउँछन् । गएका चिनियाँले पनि नेपालको बारेमा सकारात्मक प्रचार गर्ने अवस्था नरहेको उनको भनाइ छ ।
सडक पूर्वाधार, एयर कनेक्सनजस्ता समस्या समाधान गर्न ढिलाइ नगर्ने हो भने यो संख्या बढ्न पनि सक्ने व्यवसायी बताउँछन् । चिनियाँ पर्यटक नेपाल ल्याउनेमध्येको प्रमुख टुर्स कम्पनी श्वाङ् छी टुर्स प्रालिका प्रबन्ध निर्देशक (एमडी) विश्वेस श्रेष्ठ पनि उक्त संख्या निकै न्यून भएको बताउँछन् । ‘जनवरी र फेब्रुअरी चिनियाँहरूको नयाँ वर्षको समय हो । यो अवधिमा चिनियाँ पर्यटकको आगमन संख्या कोरोनाअघि राम्रै हुन गर्थ्यो,’ श्रेष्ठले भने, ‘तर, तुलनात्मक रूपमा र भ्रमण वर्ष भनिएको अवधिमा यो संख्या निकै कम हो ।’ उनी त विगतसँग तुलना गर्दा यसलाई निराशाजनक मान्नुपर्ने तर्क गर्छन् ।
काठमाडौंबाट चीनका शहरमा जाने वायुयानको संख्या बढ्न नसकेको भन्दै उनले थपे, ‘कोभिड–१९ अघि हप्ताको ३० देखि ३५ ओटासम्म उडान हुन्थे । अहिले १० ओटासम्ममा खुम्चिएको छ । एयरलाइन्सको राम्रो पिकअप हुन सकेको छैन । हामी उत्साहित हुने अवस्था छैन, यो संख्याबाट ।’ उनको कम्पनीले सातामा दुई ओटासम्म चार्टर्ड फ्लाइट गर्ने लक्ष्य राखेको तर अहिलेसम्म त्यस्तो उडान गर्न नसकिएको श्रेष्ठले बताए । ‘घोषणा गरिए पनि कार्यान्वयनमा जान सकेन कि भन्ने प्रश्न उठेको छ । सरकारले हवाई टिकटमा लगाएको १३ प्रतिशत भ्याटले पनि चिनियाँहरू निराश देखिएका छन्,’ उनले भने ।
सन् २०२५ मा नेपाल–चीनबीच दौत्य सम्बन्ध कायम भएको ७० वर्ष हुन्छ । यही मौका पारेर नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिएको थियो । नेपाल–चीन दौत्य सम्बन्धको ७० वर्ष पुगेको अवसर पारेर विगतको तुलनामा ४/५ गुणा चिनियाँ पर्यटक नेपाल पठाएर दौत्य सम्बन्ध कायम भएको वर्ष उल्साहपूर्ण मनाउने रणनीतिमा चीन छ । तर, आगामी महीनाहरूको आगमन पनि यस्तै रह्यो भने लक्ष्य प्राप्त गर्न मुश्किल पर्ने देखिएको छ ।
सरकारले हवाई टिकटमा मूल्य अभिवृद्धिकर (भ्याट) लाग्ने व्यवस्था गत आर्थिक वर्ष २०८०/८१ मा ल्याएको थियो । त्यसअनुसार हवाई टिकटमा १३ प्रतिशत भ्याट जोडिने गरेको छ । भ्याटका साथै विदेशी मुद्राको विनिमय दर वृद्धिले टिकटको मूल्य बढाएको हुँदा चिनियाँ पर्यटक आउन गाह्रो मानेको हो कि भन्ने आशंका पनि व्यवसायीको छ । यसअघि काठमाडौं–छेङ्दुको हवाई भाडा ३५ हजार रुपैयाँ रहेकोमा अहिले दोब्बर भएको छ । यी कारणले पनि अपेक्षित संख्यामा चिनियाँ आउन नसकेको उनीहरू बताउँछन् ।
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल २०८० असोजमा चीन भ्रमणमा रहेका बेला बेइजिङले ‘नेपाल भ्रमण वर्ष २०२५’ मनाउने घोषणा गरेको थियो । चीनले धेरैभन्दा धेरै आफ्ना नागरिकलाई नेपाल पठाउन स्वदेशमा उक्त अभियान चलाउने भनेको र सोहीअनुसार २०८१ मङ्सिरमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा ‘नेपाल भ्रमण वर्ष २०२५’ मनाउने विषयमा विस्तृत योजना आएको हो । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा मङ्सिर १८ गते जारी भएको नेपाल र चीनको संयुक्त वक्तव्यमा नेपाल भ्रमण वर्षमा के कस्ता गतिविधि गर्ने भन्ने विषय उल्लेख गरिएको छ ।
कोभिड–१९ शुरू हुनुअघिको वर्ष सन् २०१९ मा १ लाख ७० हजार चिनियाँ पर्यटक नेपाल आएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गर्दै आएको नेपाल पर्यटन तथ्यांक २०२३ अनुसार नेपालमा सन् २०२३ मा कुल १० लाख १४ हजार ८८२ पर्यटक आउँदा त्यसमा ५ दशमलव ९९ प्रतिशत चिनियाँको अंश थियो ।
पर्यटन बोर्डका अनुसार सन् २०२५ को शुरूका २ महीनामा कुल १ लाख ७६ हजार ८७१ पर्यटक विभिन्न देशबाट नेपाल आएका छन् । फेब्रुअरीमा ९६ हजार ८८० विदेशी नेपाल आएको देखिन्छ ।
- गएको जनवरी र फेब्रुअरीमा गरी जम्मा १६ हजार ४७४ जना आए
- दुई महीनाको आगमनले विगत वर्षकै जस्तो संकेत गरेको व्यवसायीको भनाइ
- प्रचारको कमी, हवाई भाडा वृद्धि र सीमित उडानले गर्दा अपेक्षाकृत पर्यटक नआएको अनुमान
चीनसँगको सहकार्यमा पर्यटन गतिविधि बढाउन सकिन्छ : पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चीनसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न सकिने बताएका छन् । पर्यटन प्रवर्द्धनमा छिमेकी मुलुक चीनको सहयोग जरुरी रहेको भन्दै उनले चीनले अघि सारेको सामाजिकदेखि आर्थिकसम्मका अवधारणा अनुसरण गर्न जरुरी रहेको बताए ।
फ्रेन्ड अन द क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्सरले हालै काठमाडौंमा आयोजना गरेको ‘मेटेरियल एण्ड कल्चरल एड्भान्समेन्ट दी प्राक्टिस अफ चाइना कार्यक्रम’लाई सम्बोधन गर्दै उनले भौतिक विकासले मात्रै आत्मसन्तुष्टि दिन नसक्ने भएकाले आत्मिक विकासका लागि पूर्वीय दर्शनले निर्देश गरेको समेत बताए । नेपाल र चीनबीच संस्कृतिका राम्रा पक्षहरूको आदानप्रदान गर्नुपर्नेमा उनले जोड दिए ।
चिनियाँ राजदूत छन सङले ‘ग्लोबल कल्चर’ प्रवर्द्धनका लागि चीनले सबैसँग मिलेर काम गर्न चाहिरहेको बताए । नेपालले पनि यसबाट ठूलो फाइदा लिन सक्ने बताए । नेपालको विकासका लागि सहयोग चीन सदैव तयार रहेको समेत उनको भनाइ थियो ।
प्राध्यापक अतुल कोइराला संसारमा भएका भौतिक प्रगतिमध्ये चीनको उल्लेख्य रहेको बताए । आफ्नो जनशक्ति विकास गरेर चीनले गरिरहेको भौतिक प्रगतिबाट नेपालले समेत सिक्न जरुरी रहेको उनले औंल्याए ।
चीन भ्रमणमा रहेकी कांग्रेस नेतृ सुजाता कोइरालाले भिडियो सम्बोधन गर्दै चीनसँगको आपसी सद्भाव र सहयोग अभिवृद्धिसँगै कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन लगायत विषयमा सहकार्य गर्न सकिने बताइन् । ‘चीन नेपालको एक असल छिमेकी भएको र चीनको चासोको विषयमा नेपाली कांग्रेस र नेपाल सरकार सदैव सचेत छ,’ उनले भनिन् ।