बेइजिङ (चीन) । चीनले आफ्नो मानवरहित अन्तरिक्षयान चन्द्रमाको दक्षिणी ध्रुव–एटकेन बेसिन (पृथ्वीबाट नदेखिने चन्द्रमाको भाग) मा सफलतापूर्वक अवतरण गरेको जनाएको छ । अहिलेसम्म अन्य कुनै पनि देशले आफ्नो यान यो अज्ञात स्थानमा पठाउने प्रयास गरेका छैनन् ।
चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए)का अनुसार चिनियाँ समयअनुसार आइतवार बिहान ६ः२३ बजे ‘चाङ इ–६’ अन्तरिक्षयान चन्द्रमाको दक्षिणी ध्रुव–एटकेन बेसिनमा अवतरण गरेको हो ।
मे ३ मा शुरु गरिएको यस अभियानको उद्देश्य यस क्षेत्रबाट दुर्लभ चट्टान र माटो सङ्कलन गर्नु हो । यो मिसनले चन्द्रमाको दक्षिणी ध्रुवमा अवस्थित विशाल क्रेटरबाट केही पुराना चट्टानहरूबाट सामग्री निकाल्ने काम गर्नेछ ।
जोखिमयुक्त थियो अवतरण
यो अवतरण जोखिमले भरिएको थियो, किनकि चन्द्रमाको यो भागमा पुगेपछि अन्तरिक्ष यानसँग कुराकानी गर्न निकै गाह्रो हुन्छ । सन् २०१९ मा ‘चाङ इ–४’ अवतरण गरेर यो उपलब्धि हासिल गर्ने चीन एक मात्र देश हो ।
वेनचाङ स्पेस लन्च सेन्टरबाट प्रक्षेपणपछि ‘चाङ इ–६’ अन्तरिक्ष यानले अवतरण गर्नुअघि चन्द्रमाको परिक्रमा गरेको थियो, त्यसपछि मिसनको ल्यान्डरको एक भाग आर्बिटरबाट छुटेर चन्द्रमाको दक्षिणी ध्रुव–एटकेन बेसिनमा अवतरण गरेको थियो ।
यस मिसनले चन्द्रमामा यान अवतरण गरेपछि स्वतः पत्ता लगाउने र समाधान गर्ने प्रणालीको प्रयोग गरेको सरकारी समाचार संस्था सिन्ह्वाले सीएनएसएलाई उद्धृत गर्दै जनाएको छ । यसमा रहेको ‘भिजिबल लाइट क्यामेरा’ले चन्द्रमाको सतहको चमक र अन्धकारको आधारमा तुलनात्मकरूपमा सुरक्षित अवतरण क्षेत्र रोजेको थियो ।
अवतरण गर्नुअघि ल्यान्डर सुरक्षित अवतरण क्षेत्रभन्दा करीब १०० मिटर (३२८ फिट) माथि केही बेर उडेको थियो । ल्यान्डरले स्लो स्पिडमा ओर्लनुअघि थ्रीडी लेजर स्क्यानरको प्रयोग गरेको थियो । क्वेकियाओ–२ रिले स्याटेलाइटले यस कार्यमा सहयोग गरेको सीएनएसएले जनाएको छ ।
चिनियाँ सञ्चारमाध्यमले सफल अवतरणलाई ऐतिहासिक क्षणको संज्ञा दिएका छन् । बेइजिङ एयरोस्पेस लाइट कन्ट्रोल सेन्टरले आइतबार बिहान ‘चाङ इ–६’ ल्यान्डिङ क्राफ्ट चन्द्रमामा अवतरण गरेपछि ताली बजाएको चीनको सरकारी प्रसारकले जनाएको छ ।
०००
सीएनएसएले ल्यान्डरलाई सतहबाट सामग्री सङ्कलन गर्न तीन दिनसम्म लाग्ने बताएको छ । यसमा ‘धेरै नयाँ खोजहरू, खतराहरू र ठूला कठिनाइहरू समावेश हुनेछन्।
युनिभर्सिटी अफ म्यानचेस्टरका प्रोफेसर जोन पर्नेट–फिशर (लुनार जियोलोजीका विशेषज्ञ)ले भने, ‘सबै जना निकै उत्साहित छन् कि हामीले यसअघि कहिल्यै नदेखेका चट्टान देख्न पाउनेछौं ।’