चितवन उद्यमशीलतामार्फत चितवनको आर्थिक विकासको सम्भावनाको खोजी गर्न उद्यमी र विज्ञबीचमा अनुभव आदानप्रदान गरिएको छ । रत्ननगर जेसीजको रजत जयन्ती तथा जेसीज सप्ताहको अवसरमा शनिवार आयोजित ‘रत्नबीज समिट’ कार्यक्रममा अर्थविद्हरूले नेपालको आर्थिक अवस्था र जिल्लाका उद्यमीले सफलताको कथा सुनाएका थिए । सफलताको कथाले युवालाई जिल्लामै उद्यमी बनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डा. विश्वनाथ पौडेलले नेपालको अर्थतन्त्र, आर्थिक संकटको विषयमा तथ्यपरक विषय प्रस्तुत गरेको उक्त कार्यक्रममा चटपट व्यापारीदेखि राष्ट्रियस्तरको उद्योगीहरूको सफलताको कथा सुनाइएको थियो ।
नेपालको अर्थव्यवस्था र उद्यमीले सफल हुन गरेको प्रयासका बारेमा युवालाई जानकारी गराउने उद्देश्यले आर्थिक विकास र उद्यमशीलतालाई जोडेर रत्नबीज समिट कार्यक्रम आयोजना गरेको रत्ननगर जेसीजका अध्यक्ष नरहरि पुरीले जानकारी दिए । अर्थतन्त्रको वर्तमान र भविष्यलाई केलाउँदै युवालाई जिल्लामै उद्यमी बनाउन प्रेरित गर्ने दीर्घकालीन उद्देश्यका साथ विज्ञ र उद्यमीलाई एउटै मञ्चमा राखेर कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रममा नेपालको अर्थतन्त्र र आर्थिक संकटको बारेमा बोल्दै अर्थविद् डा. पौडेलले सरकारले आम्दानी र खर्चको अनुपात मिलाउन नसक्दा आर्थिक संकट आएको उल्लेख गरे । कोरोनापछि सरकारले अनुत्पादक क्षेत्रमा गरेको लगानीले आर्थिक संकट आएको भन्दै उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरे आर्थिक संकट अन्त्य हुने दाबी गरे । उनले वर्तमान आर्थिक संकटको अन्त्य गर्न राजस्व वृद्धि गरी अनावश्यक खर्च घटाउँदै दीर्घकालीन प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्न सुझाए ।
चन्दन चटपटका सञ्चालक चन्दन गुप्ताले साइकलमा चटपट बेचेर शुरू गरेको व्यवसायबाट अहिले दैनिक १५ हजारसम्म कमाउने बताए । रिजाल फुडका सञ्चालक पुरुषोत्तम रिजालले २०४४ सालमा ६ हजार रूपैयाँमा शुरू गरेको दालमोठ उत्पादनमा अहिले १० करोड रुपैयाँको उद्योग बनेको बताए ।
अनलाइनमार्फत कपडालगायत दैनिक उपभोग्य वस्तुको होम डेलिभरी गर्ने महिला उद्यमी डा. सन्ध्या कँडेलले अनलाइन सपिङ पसल चितवनकै पहिलो भएको दाबी गरिन् । २०७२ सालमा शुरू गरेको व्यवसायबाट आफूले अपेक्षाकृत सफलता हासिल गरेको उनको भनाइ छ । उनले शुरूमा २ लाख रूपैयाँबाट थालेको व्यवसायले अहिले २५ जनालाई रोजगारी दिएको उनले बताइन् ।
पूर्वमिस नेपाल सुगरिका केसीले व्यवसायमा नवीनतम् सोचको बारेमा प्रस्तुति गरेकी थिइन् । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा प्रमुखअतिथि रहेको सो कार्यक्रममा रत्नविज समिटका संयोजक सौरभ रिजालले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए ।