दशैंले दैलो छोडेर तिहारले घाँटी अँठ्याउन लागिसक्यो । एउटा चाड गयो तर अर्को आउँदै छ । चाड त खानपान, त्यसमा पनि खासगरी पानकै अवसर । पिउन र जिउनका लागि बहाना चाहिन्छ रे । तर पियक्कडहरूका लागि त चाडपर्वको बहाना जरुरी छैन । हरेक दिन चाडै हुन्छन् । के पर्व, के बिदा, वा साथीको बिहे, हप्ताको अन्त्य यी सब बहाना बनिदिन्छन् पिउनका लागि । माछा, मासु, मिठाई त ढिलो–चाँडो सकिएला, तर पिउनेहरूका लागि बोतल कहिल्यै रित्तिँदैन । एउटा रित्तिए तुरुन्त अर्को हाजिर ।
कुनै साँझ यसो बजारतिर फन्को मार्नुस् त । किताब पसलहरू, औषधि पसलहरू साँझ नहुदै बन्द हुन थालिसक्छन्, तर मदिराका पसलहरू चाहिँ तपाईंलाई सधैं खुला हृदयले स्वागत गरिरहन्छन् । खुट्टा भाँचिए पनि, मन चोइटिए पनि, झरी या बादल भरिए पनि पिउनेका लागि मदिरा त औषधि नै हो । आखिर यसलाई वास: त्यसै भनेको होइन नि । दवादारुमा दारुको अर्थ पनि पिउनेका भाषामा औषधि नै रहेछ । र विचार गरिहेर्दा यो देशको अर्थतन्त्र धानेको अरू कसैले होइन, बोतलधारीहरूको हिम्मतले नै हो ।
डाँडाकाँडामा पिकनिक जाँदा वा देशभित्र कुनै पनि गल्लीहरूमा हिँड्दा मदिरा र बियरका बोतलहरूले स्वागत नगरेको ठाउँ नै छैन । मसानमा जानुस् कि मन्दिरमा, हिमालमा जानुस् कि विमानमा, बोतलविना जिन्दगीको टोटल हिसाब नै खराब हुन्छ रे । यसैले यो देशको सम्मानका असली हकदार कोही छन् भने ती पिउनेहरू नै हुन् । पिउनेहरूको जति योगदान यो देशमा खासगरी अर्थतन्त्रमा अरू कसैको पनि छैन भन्दा हुन्छ । राज्यले हरेक वर्ष मदिरा कम्पनीका मालिकलाई पुरस्कृत गरेर प्रमाणपत्र र दोसल्ला ओढाएजस्तै अब त पिउनेहरूलाई ‘राष्ट्रको कर्तव्यनिष्ठ आर्थिक सिपाही’ प्रमाणपत्र दिइनुपर्छ । किनकि पिउनेले नपिइदिने हो भने बनाउनेले कसरी बनाइरहन सक्छन् र ?
संसारलाई थाहा छ कि आजको समयमा जति त्याग पिउनेहरूले समाजका लागि गरेका छन्, त्यो अरू कसैले गर्न सकेका छैनन् । यो कुरालाई नोट गरियोस् । सरकारले हरेक वर्षको बजेटमा जति राजस्व बढाए पनि पिउनेहरूले आफू जस्तोसुकै आर्थिक वा सामाजिक समस्यामा परेको भए पनि कहिल्यै गुनासो गरेनन् । पिउनेहरूले विरोध गरेको कहिल्यै सुन्नुभएको छ ? साँझमा पिए पनि बिहान थकित मुटु लिएर फेरि काममा हाजिर भएकै छन्, एक जिम्मेवार कर्मचारी भएर । सेवाभाव त रगतमा हुनुपर्छ र नसामा बग्नुपर्छ भन्छन् । पिउनेहरू जति जिम्मेवार र स्वअनुशासनमा रहने अरू बिरलै होलान् समाजमा । अफिस छुटेपछि साथीहरूलाई दिएका समयमा ट्वाक्क पुग्ने भनेकै पिउनेहरू मात्रै हुन् ।
नेताहरू र पियक्कडहरूबीच केही समानता छ– दुवै बोतलप्रेमी छन् । चुनावमा मत माग्ने नेता होस् या टेबलमा बोतल माग्ने पियक्कड, दुवैको घाँटीमा एउटै कडी छ । फरक यत्ति हो, नेताले देशलाई बचाउँछु भन्छन् । तर चुनावपछि हराउँछन्, तर पियक्कडले हरेक दिन पिएर देशको आर्थिक चक्र चलाइरहन्छन् ।
तर यहाँ त जो अनुशासित छ, जो समयमै सरकारलाई कर राजस्व बुझाउँछ, उसैलाई लखेट्ने चलन छ । जस्तै, पहिले हरेक पसलमा मदिरा बियर विक्री गर्न पाइन्थ्यो । केही वर्षयतादेखि सरकारले त्यो हटाइदिएको छ । जाबो मदिरा बियर विक्री गर्न पनि लाइसेन्स लिनुपर्ने ? त्यसैले म भन्छु कि यो मदिरा बियरमा लाइसेन्स राज बन्द हुनुपर्छ । आखिरमा मदिरा बियर विक्री गर्नु पनि एक प्रकारको समाजसेवा नै त हो । देख्नुभएन विहारतिरका छिमेकी मित्रहरू उताको सरकारबाट आजित भएर नेपाली सेवा लिन यता आका ? तिनको कम उद्धार भएको छ ? यसमा रेस्ट्रिक्सन किन लगाको होला सरकारले ?
चुनावका बेला नेताहरू मदिरा बियरको खोला बगाउँछन्, अनि भाषणमा ‘देशको लागि प्राण दिनेछौं’ भनेर ठोकुवा गर्छन् । प्राणको त कुरै छाडौं, पिउनेहरूलाई ट्याप्प ट्याप्प पर्दा पनि फुटेको कौडी पनि दिन्नन् । तर पिउनेहरू भने देशको राजस्वका लागि कहिल्यै पछाडि पर्दैनन् । हे मुलुकका हाकिमहरू ! तिमीहरूले चिनेका छौ त देशका यी वीर सपुतहरूलाई ?
पिउनेहरूको हिम्मत त वास्तवमै सम्मानयोग्य पो छ त । यदि पियक्कडहरूले बोतल उठाउन छोडे भने यो समाजको आर्थिक चक्र कहाँ पुग्ला ? तर पनि आजसम्म कुनै पनि सच्चा पियक्डलाई सम्मान गरिएको छैन । त्यसैले पियक्कडहरूका लागि ‘ड्राइ–डे’ कहिल्यै हुनु हुँदैन । मदिराविनाको समाज सधैं चल्नै सक्दैन ।
देशमा बाढी आओस् या पहिरो जाओस्, पिउनेहरूलाई केही फरक पर्दैन । ‘पिऊ, जति पिउन सक्छौ पिऊ, बाँच्दा पिऊ, मर्दा पिऊ’ भन्ने मन्त्रमा उनीहरू बाँचेका छन् । सबैलाई थाहा छ कि उनीहरूले पाउने तलब भत्ताले एक हप्ता पनि चल्दैन । तर पनि उनीहरूले पिउन छाड्दैनन् । आखिर पिउन पनि सजिलो कहाँ छ र ? उहिले भूपी शेरचनले लेखेका थिए, ‘पिएर त हेर, पिउन कति गाह्रो छ ।’
त्यसैले म नेपालका सच्चा पियक्कडहरूलाई भन्छु कि चिन्ता नगर । सरकारले तिमीलाइ पक्कै एक्लो छोड्दैन । अब विस्तारै वृद्धभत्ता अझ नगदमै थप्दै जानेछ, प्रधानमन्त्री झार उखेल्ने परियोजनामा पिउनेहरूका लागि विशेष भत्ता बढाउनेछ । अहिले परराष्ट्र मन्त्रालयले विदेशस्थित कूटनीतिक नियोगका लागि भनेर सयौं नयाँ दरबन्दी सृजना गरेको छ । त्यो भनेको नयाँ पियक्कडहरूलाई विदेशमा नयाँ रोजगारी सृजना हो । हुन पनि कूटनीतिमा मदिरापानको बेग्लै महत्त्व छ । त्यसैले सरकारले पिउनेहरूलाई चिन्दै चिन्दैन वा वास्तै गर्दैन भन्ने छैन । ढिलो चाँडो सरकारले पिउनेहरूका लागि नयाँ कार्यक्रम पक्कै ल्याउनेछ भन्ने आशा गरौं ।
यो देशमा केवल ठूला मान्छेहरूले पिइरहने र अरूहरूले केवल टुलुटुलु हेरिरहने, यो त सरकार लागि पनि लाजमर्दोे कुरा हुन्छ नि । आखिरमा सरकार पियक्कडहरूको पनि हो नि । पिउनेहरूको योगदानलाई राज्यले महत्त्व नदिई सधैं कसरी चल्न सक्छ र ? ‘बोतलका लागि, बोतलवालाबाट र बोतलको साथ’ भन्ने लोकतन्त्रको मर्म बुझ्न सरकारलाई कसैले सिकाउनुपर्छ र ? सरकारलाई पनि थाहा छ नि देशको अर्थतन्त्र पिउनेहरूकै काँधमा त टिकेको छ । लोकतन्त्र भनेको जनताको आवाज सुन्नु हो । तर सरकार पियक्कडहरूको आवाज दबाउने प्रयासमा किन ? बोतलविना लोकतन्त्र चल्छ र ? सम्भव छैन ! त्यसैले मेरो तर्क छ, संसद्मा समानुपातिक रूपमा पियक्कडहरूको लागि सिट सुरक्षित गर्नुपर्छ ।
दुखाइ जस्तो सुकै होस्, शारीरिक होस् या मानसिक, मदिरा नै एउटा राम्रो औषधि हो । यो कुरा सबैले बुझेका छन् । तर सरकारले यो अझै बुझ्न सकेन । त्यसैले आउनोस् हामी सबै पिउनेहरू एकताबद्ध भएर पिउनेहरूका लागि मदिरा र बियरको ड्राइ–डे नहुने र अविच्छिन्न आपूर्ति गराइराख्न सरकारसँग जोडदार माग राख्न सिंहदरबार घेर्न जाऊँ । शेयर बजारमा लाग्नेहरूले बजार गुल्जार बनाउन आन्दोदन गर्न सक्छन् भने पिउनेहरूले किन नसक्ने ? यो देशमा पिउनेहरूको जति धेरै एकता, संख्या र शक्तिको तुलनामा अरू कुनै दल, समूह वा संगठन छ र ? छैन नि । यसैले जुनसुकै दलको सरकार भए पनि देशको अर्थतन्त्र नै धानिरहेका पियक्कडहरूको मागलाई उसले कसरी बेवास्ता गर्न सक्छ र ? जे होस्, अहिलेलाई भने आउनोस् आउँदो तिहार, नेपाल संवत् र छठको उपलक्ष्यमा चियर्स गर्न शुरू गरौं– चियर्स !