हिजोआज जताततै स्टार्टअप स्टार्टअप भनेर हल्लाखल्ला गरिरहेको सुनिन्छ । अरू खालका स्टार्टअपहरूले के चैं करामत गरे थाहा छैन । तर, अहिलेसम्म हेर्दा राजनीतिको स्टार्टअपहरू चैं सफल नै छन्, युनिकर्न नै बन्ला जस्तो छ । राजनीतिको स्टार्टअप गरेरै त शहरमा कोही मेयर बनेका छन्, कसैले मन्त्री र उपप्रधानमन्त्रीसम्म पड्काएर के के गरिसके ।
अहिले नेपालमा राजनीतिबाहेक अरू कुनै कुराको, पेशाको, व्यवसायको ग्यारेन्टी पनि त छैन । राजनीतिमा नभएका मान्छेहरूको त हरिबिजोकै पो छ त । त्यसैले होला अहिले नेपालमा हरेक व्यक्तिलाई गहिरो ‘चिन्तक’, विश्लेषक, अझ दार्शनिक जस्तो पो देख्छु म त ! मानिशहरू आकाशतिर हेरिरहेका देखिन्छन्, ठीक त्यस्तै जसरी छतमा टिभीका डिस्कहरू आकाशतिर ताकिरहेका हुन्छन् । घट्दो रोजगारी, बढ्दो खर्च, कर्मचारी कटौती, शहरमा घट्दो सुरक्षा व्यवस्थाजस्ता कारणले नै होला । ती सबैलाई काम लाग्ने आइडिया हो, राजनीतिको स्टार्टअप । अझ भनौं डीप फेकको स्टार्टअप ।
मौसम विभागले त भोलि घाम लाग्छ कि पानी पर्छ भनेर ग्यारेन्टी दिएर भन्न सक्दैन । ज्योतिषीहरूले पनि भोलि कसको कुन ग्रहसँग मिलन होला वा भिडन्त होला भनेर स्पष्ट भन्न सक्दैनन् । यस्तो अनिश्चितताले भरिएको समयमा सबैजना चिन्तक नभए के चैं हुन्छन् त ?
फेरि चिन्ता पनि सबैलाई आफ्नो–आफ्नै खालको छ । मासलाई दाल–भातको चिन्ता छ भने राजनीतिक क्लासलाई सरकारको चिन्ता । साँझ ग्लास नभई नहुनेहरूका लागि त कुनै पनि विषय विषय नै हुँदैनन् । त्यहाँ चिन्ता र चिन्तनको के अर्थ छ र ?
तर, जब कुनै नेतासँग अरू नेताले चिया खायो भनेर टिभीमा ब्रेकिङ न्यूज आउँछ, विपक्षी दलका नेताहरूको मुटु ढक्क फुल्न थाल्छ । यता सत्तारूढ पार्टीका समर्थकहरूलाई पनि भूकम्प आएजस्तो हुन्छ । किनभने उनीहरूलाई सरकार नै आफ्नो निजी सम्पत्तिजस्तो लाग्छ । सरकार नचल्दा आफ्नो टोलमा बेइज्जती हुने डर उनीहरूलाई हुँदो रेछ ।
अब भक्त बनिसकेका कार्यकर्तालाई चिन्ता नहोस् पनि किन ? आखिरमा उनीहरूले भोट दिएर नै त नेताहरूलाई सरकारमा पुर्याएका हुन् । फेरि ‘हाम्रो’लाई केही नराम्रो भयो भने उनीहरूको पनि त आआफ्नो भविष्य खतरामा पर्न सक्छ । अर्को दलको सरकार गिर्दा वा गिराउँदा कसरी उनीहरूका युरिक एसिडका कारण चल्न गाह्रो हुने गोडाहरू पनि ‘ब्रेक डान्स’ गर्न थालेका थिए । विपक्षीको सरकार गिराउँदा र आफ्ना सरकार बनाउँदा छिमेकीहरूसँग तास खेल्दै पार्टी मनाएको पनि कसरी बिर्सन सकिन्छ र ?
आफ्ना तमाम आकांक्षाहरूलाई साकार पार्न पनि वर्तमान सरकारलाई बलियो बनाउनै पर्छ नि त । उता प्रमोशन खानु छ, सरकारी टोलीमा सामेल भएर विदेश भ्रमणमा जानु छ, छोरालाई कुनै सरकारी पदमा बहाल गराउनु छ, छोरीलाई कोटामा छिराउनु छ । के के छ के के । हजार सपनाहरूको माया लागेर आउँछ अनि सरकारको चिन्ता नगरेर भो त ? यसरी आफ्ना आकांक्षाहरू साकार पार्ने सपना देख्नेहरूका लागि पनि सरकार त टिक्नैपर्छ । यदि समय अगाडि नै सरकार गिर्यो भने ती सपनाको के होला ? कसले गरिदिन्छ ती सपनाको जीवन बीमा ?
अहिलेको राजनीतिक खेललाई आफ्नो जितमा बदल्न सरोकारवाला सबैले पूजा, हवन र ज्योतिषीको चक्कर काटिसकेका छन् । तर, नयाँ सरकार बन्दै बन्दैन भनेर पर्खिएका बेला अचानक फ्याट्ट बन्यो । अब त महायज्ञ पनि तय भइसकेको छ क्यारे ! महायज्ञवालाहरूले ग्यारेन्टी दिएका छन् रे कि यो सरकार पक्का टिक्छ, र नटिकेमा दोष हवन सामग्री र घिउमा मिसावट भएकोमा जानुपर्छ । तर पनि अहिलेको ग्यारेन्टी पछिल्ला ग्यारेन्टीहरूभन्दा बलियो छ रे ।
महायज्ञ टोली अहिले विनामिसावटवाला शुद्ध घिउ खोज्न दिल्ली र अमेरिकासम्म जाने तयारीमा छन् रे । तर, अर्काथरी मानिस विश्वास गर्छन् कि यस्ता हवन र यज्ञले केही हुनेवाला छैन । उनीहरूको विचारमा यो कृत्रिम बौद्धिकताको युगमा हवन, यज्ञ होइन ‘डीप फेक’ न्यूज, फेक फोटो, फेक भिडियो, र फेक मेसेज बनाउने कारखाना खोल्नुचाहिँ बढी उपयोगी हुन्छ । यसका लागि सबैका बादेखि दा सम्मका साइबर सेना तयार छँदै छन् । जसले जनतालाई सत्य र झूटको भिन्नता थाहा नहुने गरी ‘फेक’ सूचनाहरू पठाएर रोबोटले जस्तै काम गर्छन् ।
तपैंलाई थाहै छ डीप फेक भनेको मेशिन लर्निङ तथा एआईको फ्युजनले विकास गरेको प्रविधि हो जसले कन्फ्युजनै कन्फ्युजन गरिदिन्छ । यसले तपाईंलाई वास्तविक र झूट अर्थात् फेक कुरा फरक छुट्याउनै नसक्ने बनाउँछ । यो प्रविधिले एउटाको अनुहारमा जोसुकैको अनुहार ठ्याक्क मिलाइदिन्छ । स्वस्थानी कथामा गणेशको टाउकामा हात्तीको टाउको काटेर ल्याएर जोडिदिएजस्तै । एक ठाउँको घटनालाई अर्कै ठाउँको, एक सन्दर्भमा भनेको कुरालाई अर्कै सन्दर्भको, नभएको कुरालाई ठ्याक्कै हो भन्ने पारिदिन्छ ।
जसरी नेपालको राजनीतिले तपाई हामीलाई दशकौंदेखि अलमल्याइरहेको छ त्यसरी नै तपाईंलाई हिजोआजका युट्युबरले भन्दा बढी यो डीप फेकले अलमल्याउन सक्छ । एआई नआउँदै हाम्रा नेताहरूले डीप फेकलाई पहिल्यै भित्त्याइसकेका रहेछन् त भन्नुहोला । हो, पहिले डीप फेक अलिअलि थोरै मात्रामा र त्यो पनि प्रबिधिको प्रयोग बेगर नै हुन्थ्यो भने अहिले प्रविधिको प्रयोग गरेर खुल्लमखुल्ला र धेरै मात्रामा हुने गरेको छ । डीप फेकलाई गाँजाखेती भनेजस्तै झूटको खेती पनि भन्न सकिन्छ । जसरी गाँजाखेती कानूनले प्रतिबन्धित, तर खुला रूपमा चलिरहने धन्दा हो डीप फेक पनि ठीक त्यस्तै हो ।
हेर्नुस् त, कोही नेताहरू काटीकुटी अब्राहम लिंकनजस्ता देखिन्छन्, कोही माक्र्सका अवतारजस्तै देखिन्छन् । कोही माओभन्दा कम देखिँदैनन् । केजरीवालजस्ता देखिने पनि छन् । तर, यिनीहरू कोही न लिंकन हुन्, न मार्क्स हुन् न माओ र केजरीवाल तर पनि हेर्नुस्, नेपाली जनताका अगाडि दुरुस्तै देखिन्छन् । यस्तो डीप फेक सृजना गर्न त एलोन मस्कले पनि सकेका छैनन् ।
डीप फेक किन पनि धुँवाधार चल्छ भने यो विषयमा सही र गलत के हो छुट्टयाएर समाजलाई दिशानिर्देश गर्नुपर्ने पत्रकारिता जगत आफै कन्फ्युजनमा छ । डीप फेकको यस्तो उर्वर समयमा सत्य लुकाउन सक्ने र झूटलाई विश्वसनीय बनाउन सक्ने नै अहिलेको राजनीतिमा सफल हुनका लागि नभई नहुने कला हो । किनकी भक्तहरूलाई नेताजीहरूको स्वागतमा भजन गाउन र घण्टा बजाउन लगाउन सकियो भने मात्र पनि सरकार अनन्तकालसम्म टिक्छ । त्यसका लागि ‘डीप फेक’ न्यूज प्रोडक्शन नै एकमात्र उपाय हो ।
फेरि मंगल ग्रहबाट त सरकार गिराउन वा टिकाउन कोही आउनेवाला छैनन् । त्यसैले राजनीतिमा छिट्टै सफल हुन चाहानेहरूले ढिला नगरी विधिवत् रूपमै ‘डीप फेक’ न्यूज प्रोडक्शनको नयाँ स्टार्टअप शुरू गरे सफल हुने पक्का छ है । जसले यस्तो गर्न सक्छ, त्यसैले राजनीतिमा बाजी मार्नेछ, नत्र भने हार्नेछ । त्यसैले ल है, समयमै एआईको प्रयोग गरेर डीप फेक समाचारको अब्बल उत्पादन गरेर चौथो औद्योगिक क्रान्ति नेपालबाट शुरू गरिहालौं ।