डिजिटल भनेको विद्युतीय र कम्प्युटर प्रणालीहरू प्रयोग गरेर जानकारीलाई प्रशोधन, भण्डारण, र सञ्चार गर्ने प्रक्रिया हो । डिजिटल प्रविधिहरूमा कम्प्युटर, स्मार्टफोन, इन्टरनेट, सफ्टवेयर, सामाजिक मिडिया प्लेटफर्महरू, डिजिटल क्यामेरा र क्लाउड स्टोरेजजस्ता उपकरण समावेश छन् । परम्परागत विधिहरूमा कागजमा आधारित लेनदेन, प्रत्यक्ष सञ्चार र म्यानुअल वा एनालग उपकरणहरूको प्रयोग समावेश हुन्छ । यसमा डेटा तुरुन्तै प्रशोधन, भण्डारण र सञ्चार गर्न सकिन्छ । डिजिटल प्रक्रियामा छिटो सञ्चार, निर्णय लिने र स्वचालनमार्फत व्यवसायहरूलाई अधिक दक्षताका साथ सञ्चालन गर्न सकिन्छ ।
डिजिटल रणनीति भनेको कुनै संगठन, व्यवसाय वा सरकारले डिजिटल प्रविधि र उपकरणहरू प्रयोग गरेर निश्चित लक्ष्य प्राप्त गर्न तयार गर्ने योजना हो । यसले इन्टरनेट, डेटा विश्लेषण, मोबाइल एप्स, क्लाउड कम्प्युटिङ, सामाजिक मिडिया, र डिजिटल सञ्चार प्लेटफर्महरूलाई प्रयोग गरेर सञ्चालन कार्यहरू सुधार गर्ने, ग्राहकसँग अन्तरक्रिया गर्ने र नयाँ व्यावसायिक अवसरहरू सृजना गर्ने उद्देश्य राख्छ ।
स्थानीय आर्थिक विकासको सन्दर्भमा डिजिटल रणनीतिको ध्यान केन्द्रित गर्नुपर्ने क्षेत्रहरू डिजिटल पूर्वाधारको सुधार गर्न उच्च गतिको इन्टरनेट जडान, ५जी नेटवर्क र सार्वजनिक वाइफाइ जडानको विस्तारलाई तीव्रता दिनुपर्छ । त्यस्तै डिजिटल साक्षरता र शीप विकासका लागि श्रमशक्तिलाई डिजिटल प्लेटफर्मसँग अन्तरक्रिया गर्न आवश्यक शीप प्रदान गर्नुपर्छ । डिजिटल नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धन तथा स्थानीय व्यवसाय र स्टार्टअपहरूलाई डिजिटल उपकरणहरू प्रयोग गरेर नवीन विचारहरू ल्याउन तथा व्यापार वृद्धि गर्न प्रेरित गर्नुपर्छ । ई–गभर्नेन्सलाई प्रोत्साहन गरी सार्वजनिक सेवाहरूमा डिजिटल पहुँच उपलब्ध गराएर पारदर्शिता र दक्षता बढाउनुपर्छ ।स्मार्ट पालिका र डिजिटल सार्वजनिक सेवामार्फत डिजिटल प्रविधिको प्रयोग गरेर यातायात, फोहोर व्यवस्थापन र सार्वजनिक सुरक्षाजस्ता सेवाहरूमा सुधार गर्नुपर्छ । डेटामा आधारित भई स्रोतको प्रभावकारी प्रयोग र सही निर्णय गर्ने गर्नुपर्छ । दिगोपन प्रवर्द्धन गर्दै हरित प्रविधिहरूको उपयोग गर्नुपर्छ जसमा नवीकरणीय ऊर्जाको प्रवर्द्धन गरी वातावरणीय असर कम गरिन्छ ।
स्थानीय आर्थिक विकास योजनाहरूले पूर्वाधार विकास, रोजगारी सृजना र व्यवसाय वृद्धिमार्फत कुनै समुदाय वा क्षेत्रको आर्थिक अवस्थामा सुधार ल्याउन सक्छ । यी योजनामा डिजिटल रणनीतिलाई एकीकृत गर्दा आर्थिक वृद्धिमा अझ तीव्रता ल्याउन सकिन्छ ।नेपालमा स्थानीय तहका लागि डिजिटल रणनीति निर्माण गर्दा, स्थानीय आवश्यकता, क्षमता र राष्ट्रिय डिजिटल लक्ष्यहरूसँग मिलाएर काम गर्न आवश्यक हुन्छ । यसका लागि संरचित प्रक्रियाहरू अनुसरण गर्नुपर्छ, जसले स्थानीय सरकारहरूलाई प्रभावकारी र दिगो डिजिटल प्रणाली स्थापना गर्न सहयोग गर्छ । राष्ट्रिय योजना आयोजनाद्वारा स्वीकृत गरिएको ‘स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन, २०७८’ को मार्गनिर्देशन अनुसार प्रभावकारी, पारदर्शी र समावेशी विकास योजना निर्माण गर्न मद्दत गर्छ ।
डिजिटल रणनीतिको सान्दर्भिकता
स्थानीय सरकारका लागि डिजिटल रणनीतिको महत्त्व भनेको सुशासनमा सुधार, सेवामा दक्षता र आर्थिक तथा सामाजिक विकासलाई प्रोत्साहन गर्नु हो । डिजिटल प्रविधिको तीव्र विकाससँगै स्थानीय सरकारले प्रविधिलाई आत्मसात् गरी नागरिकको आवश्यकता पूरा गर्न, सेवा सञ्चालनलाई सुधार्न र प्रतिस्पर्धी बन्न आवश्यक छ ।
स्थानीय सरकारका लागि डिजिटल रणनीतिले निकै सहयोग मिल्छ । डिजिटल रणनीतिले स्थानीय सरकारहरूलाई अनलाइन प्लेटफर्महरूमार्फत सार्वजनिक सेवाहरू छिटो र प्रभावकारी बनाउन सहयोग गर्छ । कागजी प्रक्रिया घटाएर कर भुक्तानी, व्यापार दर्ता, अनुमति र लाइसेन्सजस्ता सेवाहरू अनलाइन माध्यमबाट उपलब्ध गराइन्छ । डिजिटल सेवाहरूले नागरिकहरूलाई कुनै पनि समय, जहाँसुकैबाट सरकारी सेवाहरू प्राप्त गर्न सहज हुन्छ । डिजिटल प्लेटफर्महरूको प्रयोग गरेर स्थानीय सरकारहरूले पारदर्शिता र उत्तरदायित्वलाई बढाउन सक्छन् । नागरिकहरूले सरकारी परियोजनाहरू, सार्वजनिक खर्च र निर्णय प्रक्रिया अनलाइन ट्र्याक गर्न सक्छन् जसले सरकारप्रति विश्वास बढ्छ ।
डिजिटल रणनीतिमा प्राय: खुला डेटा पहलहरू समावेश हुन्छन्, जसले नागरिकहरूलाई सरकारी डेटामा पहुँच दिँदै नागरिक सहभागिता र अनुगमनलाई प्रोत्साहन गर्छ । यसरी डिजिटल रणनीतिले प्रशासनिक प्रक्रियाहरूलाई स्वचालित बनाउन सहयोग पुर्याउँछ र सरकारको खर्च बचत गर्छ । डिजिटल समाधानहरूले स्मार्ट सिटीको माध्यमबाट ऊर्जा, पानी र फोहोर व्यवस्थापनजस्ता स्रोतहरूको कुशल व्यवस्थापन गर्न मद्दत गर्छ । स्थानीय सरकारहरूले वेबसाइट, मोबाइल एप्स र सामाजिक सञ्जालजस्ता प्लेटफर्महरूको प्रयोग गरेर नागरिकहरूसँग प्रभावकारी रूपमा संवाद गर्न सक्छन् । यसले जनताको प्रतिक्रिया सङ्कलन गर्न, जानकारी फैलाउन, र सर्वेक्षण गर्न मद्दत गर्छ, जसले नागरिकहरूलाई निर्णय प्रक्रियामा सहभागी बनाउँछ ।
डिजिटल उपकरणहरूले नागरिकलाई स्थानीय मुद्दाहरूमा आफ्नो मत दिने, परियोजनाहरूमा सुझाव दिने र स्थानीय परियोजनाहरूमा सहभागी हुन सहयोग पुर्याउँछ । डिजिटल प्लेटफर्महरूमार्फत स्थानीय व्यवसाय, साना उद्यमीहरूलाई मार्केटिङ, ई–वाणिज्य र नेटवर्किङको अवसर प्रदान गर्छ । यसले स्थानीय क्षेत्रको आर्थिक सम्भावना देखाएर नयाँ लगानी आकर्षित गर्न मद्दत गर्छ । डिजिटल साक्षरता र शीप विकासलाई प्रवर्द्धन गरी स्थानीय सरकारहरूले डिजिटल अर्थतन्त्रमा रोजगार अवसरहरू सृजना गर्न सक्छन् । डिजिटल रणनीतिले स्थानीय सरकारलाई जनसांख्यिकी, आर्थिक गतिविधि, पूर्वाधार आवश्यकताहरू र सार्वजनिक सेवाको प्रदर्शनजस्ता विषयमा डाटा सङ्कलन र विश्लेषण गर्न सक्षम बनाउँछ । यसले निर्णयहरूलाई थप प्रभावकारी र सटीक बनाउँछ ।
स्थानीय सरकारले पूर्वानुमान विश्लेषणको प्रयोग गरेर प्रवृत्तिहरूको पूर्वानुमान गर्न सक्छ र पूर्वाधार विकास वा सार्वजनिक स्वास्थ्य मुद्दाहरूको समाधानको लागि पूर्वानुमानयुक्त निर्णय लिन सक्छ । प्रविधिको समावेशसँगै, स्थानीय सरकारले संवेदनशील डाटा (नागरिक जानकारी, वित्तीय रेकर्ड) सुरक्षित गर्न साइबर सुरक्षाका कडा उपायहरू लागू गर्नुपर्छ । राम्रो संरचित डिजिटल रणनीतिले साइबर जोखिमबाट जोगाउने पर्याप्त उपायहरू सुनिश्चित गर्छ ।
डिजिटल उपकरणहरू र प्लेटफर्महरूले स्थानीय सरकारलाई प्राकृतिक प्रकोप वा आपत्कालीन अवस्थाहरूमा वास्तविक समय जानकारी, पूर्वचेतावनी प्रणाली र संकट व्यवस्थापन उपकरणहरू प्रदान गरेर प्रतिक्रियात्मक क्षमता सुधार गर्छ । स्थानीय सरकारले स्मार्ट यातायात, ऊर्जा–कुशल भवनहरू र फोहोर व्यवस्थापन प्रणालीहरू अपनाउन सक्छ । इन्टरनेट अफ थिङ्सको प्रयोगले स्थानीय सरकारलाई सार्वजनिक पूर्वाधार (जस्तै, सडक बत्ती, पानी प्रणाली) वास्तविक समयमा अनुगमन गर्न सहयोग गर्छ, जसले समस्या समाधान गर्न र स्रोत व्यवस्थापन सुधार गर्न मद्दत पुर्याउँछ । स्थानीय सरकारले ग्रामीण वा कम सेवा प्राप्त क्षेत्रहरूमा डिजिटल सेवाहरूको पहुँच सुनिश्चित गरेर समावेशीकरण सुनिश्चित गर्नुपर्छ । डिजिटल रणनीतिले डिजिटल विभाजनलाई हटाउन सहयोग पुर्याउँछ र समावेशी विकासलाई प्रोत्साहन गर्छ ।
डिजिटल तालीम र स्रोतहरू प्रदान गरेर स्थानीय सरकारले उपेक्षामा परेका समुदायलाई सशक्त बनाउन सक्छ, जसले उनीहरूको आर्थिक सहभागिता र सशक्तीकरण बढाउँछ । डिजिटल रणनीतिले स्थानीय सरकारहरूलाई प्रविधिको प्रयोग गरेर ऊर्जा खपत घटाउने, फोहोर व्यवस्थापनमा सुधार गर्ने र दिगो शहरी योजना निर्माण गर्ने काममा सहयोग पुर्याउँछ । प्रविधिको प्रयोगले वातावरणीय परिवर्तनहरूको निगरानी गरी बाढी चेतावनी प्रणाली विकास गर्न सकिन्छ ।
स्थानीय सरकारहरूमा डिजिटल रणनीतिको महत्त्व, सुशासनको आधुनिकीकरण, सेवा वितरणमा सुधार र आर्थिक तथा सामाजिक विकासलाई प्रोत्साहन गर्न केन्द्रित हुन्छ । डिजिटल उपकरण र प्रविधिलाई आत्मसात् गरेर स्थानीय सरकारहरू अधिक दक्ष, पारदर्शी, र नागरिकहरूको आवश्यकताहरू पूरा गर्न सक्षम बन्न सक्छन् । साथै, दिगो विकास, समावेशी वृद्धि र नवप्रवर्तनलाई प्रवर्द्धन गरी स्थानीय सरकारहरूलाई प्रतिस्पर्धी र नवीन बनाउँछ र भविष्यका चुनौतीहरू सामना गर्न तयार गर्छ ।
लेखक पूर्वबैंकर हुन् ।