काठमाडौं । धितोपत्र कारोबारका लागि अनिवार्य रहेको डिम्याट एकाउन्ट (हितग्राही) खाता थपिने क्रम पछिल्लो समय निकै घटेको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले जानकारी दिएको छ ।
पछिल्लो समय सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया रोकिएसँगै डिम्याट एकाउन्ट खुल्ने क्रममा पनि कमी आएको हो । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रोकिँदा पछिल्लो समय सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रिया अवरुद्ध भएको छ ।
‘कुनै समय दैनिक १० हजारभन्दा बढी डिम्याट एकाउन्ट खोलिन्थ्यो,’ सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले भने, ‘पछिल्लो समय दैनिक १ हजार हाराहारी मात्र डिम्याट एकाउन्ट खुल्ने गरेको छ ।’
सार्वजनिक निष्कासनको बाँडफाँटमा न्यूनतम १० कित्ताको नीति लागू भएसँगै डिम्याट एकाउन्ट खोल्ने क्रमले तीव्रता पाएको थियो । धितोपत्र कारोबारका लागि अनिवार्य रहेको डिम्याट एकाउन्ट खुल्ने क्रममा कमी आउनुको पछाडि राम्रा कम्पनीको धितोपत्र सार्वजनिक निष्कासनमा नआउनु पनि एक कारण रहेको लगानीकर्ताको भनाइ छ । अग्रज लगानीकर्ता इन्द्रकृष्ण श्रेष्ठले राम्रा कम्पनीको शेयर सार्वजनिक निष्कासनमा आउने हो भने एकै दिन लाखौंको संख्यामा डिम्याट एकाउन्ट खुल्ने बताए ।
आर्थिक वर्ष २०७८/७९ मा १५ लाख ५० हजारभन्दा बढी डिम्याट खाता थपिएकोमा यो वर्ष साढे १० महीनामा ४ लाख ५८ हजार ७४१ मात्र थपिएको छ ।
केही महीनाअघि सार्वजनिक निष्कासनमा आएको उत्पादनमूलक क्षेत्रको कम्पनी सर्वोत्तम सिमेन्टको शेयर खरीदका लागि आवेदन दिन उक्त समयमा नयाँ डिम्याट एकाउन्टमार्फत नयाँ लगानीकर्ता प्राथमिक बजारमा भित्रिएको श्रेष्ठ बताउँछन् ।
साना लगानीकर्ताका रूपमा दशकौंदेखि धितोपत्र बजारमै सक्रिय रहेका श्रेष्ठले धितोपत्र बजार बढ्दा होस् या सार्वजनिक निष्कासनमा राम्रा कम्पनीका धितोपत्र विक्रीमा आउँदा होस् डिम्याट एकाउन्टको संख्या बढेको बताए ।
पछिल्लो समय धितोपत्रको दोस्रो बजारले गति लिन नसक्दा र करीब ६ महीनादेखि सार्वजनिक निष्कासनका लागि कुनै पनि कम्पनीले स्वीकृति नपाउँदा हितग्राही खाता खोल्ने क्रम घटेको श्रेष्ठको मूल्यांकन छ । चालू आर्थिक वर्ष (आव) सकिन अब डेढ महीना मात्र बाँकी छ ।
चालू आव २०८०/८१ को जेठ १६ गतेसम्म ४ लाख ५८ हजार ७४१ डिम्याट एकाउन्ट थपिएका छन् । पछिल्लो ५ आवको डिम्याट एकाउन्ट खुल्ने प्रवृत्ति हेर्दा यो आवमा सबैभन्दा कम वृद्धि देखिएको हो । गत असार मसान्तसम्म ५८ लाख २४ हजार २७९ रहेको डिम्याट एकाउन्ट जेठ १६ गतेसम्म ६२ लाख ८३ हजार २० पुगेको सीडीएससीले जानकारी दिएको छ ।
सीडीएससीले उपलब्ध गराएको ५ आवको तथ्यांक हेर्दा आव २०७८/७९ मा सबैभन्दा बढी डिम्याट एकाउन्ट थपिएको देखिन्छ । आव २०७७/७८ सम्म ३७ लाख २६ हजार ८५३ रहेको डिम्याट एकाउन्ट आव २०७८/७९ को अन्त्यमा ५२ लाख ७७ हजार ४३१ कायम भएको थियो । उक्त वर्ष १५ लाख ५० हजारभन्दा बढी डिम्याट खाता थपिएको सीडीएससीको तथ्यांकले देखाउँछ ।
धितोपत्र कारोबारलाई प्रविधिमैत्री बनाउने उद्देश्यले २०७३ साउन १ गतेदेखि डिम्याट खाता अनिवार्य गरिएको थियो । सार्वजनिक निष्कासनमा आएका धितोपत्र खरीदका लागि आवेदन दिँदा लगानीकर्ताले डिम्याट एकाउन्ट अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था ऊबेला गरिएको थियो । काठमाडौंका उपत्यकाका लागि साउन १ गतेदेखि र उपत्यकाबाहिरका लागि माघ १ गतेदेखि डिम्याट खाता अनिवार्य गरिएको थियो ।