काठमाडौं । केही महीनायता नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य उच्च वृद्धि हुँदा नेपालको वैदेशिक ऋणको दायित्व बढेको छ । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पुससम्ममा विनिमय दरमा भएको परिवर्तनले वैदेशिक ऋणमा ११ अर्ब ६१ करोड रुपैयाँ दायित्व बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको बताएको छ ।
गत आवको अन्त्यसम्म (गत असार मसान्त)मा २४ खर्ब ३४ अर्ब रुपैयाँ सार्वजनिक ऋण रहेकोमा पुससम्ममा १ खर्ब २ अर्बले बढेर २५ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । त्यसमध्ये १३ खर्ब १ अर्ब रुपैयाँ बाह्य र १२ खर्ब ३४ अर्ब रुपैयाँ आन्तरिक ऋण छ ।
- सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब रुपैयाँ पुग्यो
- १३ खर्ब १ अर्ब बाह्य र १२ खर्ब ३४ अर्ब आन्तरिक ऋण
- भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर
- डलर महँगिँदा तेस्रो देशबाट आउने वस्तु र सेवाको मूल्य बढ्ने
- विप्रेषण, वस्तु तथा सेवा निर्यात र पर्यटकबाट हुने आम्दानी वृद्धि हुने
सरकारले चालू आवको पुससम्म २ खर्ब ४० रुपैयाँ हाराहारी ऋण उठाए पनि १ खर्ब ४९ अर्ब रुपैयाँ भुक्तानी गरेकाले असारको तुलनामा १ खर्ब मात्र खुद वृद्धि भएको हो ।
‘नेपालले लिएको बाह्य ऋणमध्ये ७० प्रतिशतभन्दा बढी अमेरिकी डलरमा भुक्तानी गर्नुपर्ने खालको छ,’ सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलले भने, ‘विगत ६ महीनामा अमेरिकी डलर महँगो हुँदा वैदेशिक ऋण दायित्व ११ अर्ब ६१ करोड रुपैयाँले बढेको हो ।’ उनका अनुसार अन्य विदेशी मुद्रामा लिएको ऋणमा पनि सटही दर घटबढ भएको हुन सक्ने पोखरेलको भनाइ छ ।
चालू आवको शुरूमा अमेरिकी डलरको मूल्य १३३ रुपैयाँ हाराहारी थियो । ६ महीनाको अवधिमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ करीब ६ रुपैयाँले अवमूल्यन भइसकेको छ । पछिल्लो साता डलरको मूल्य १३८ रुपैयाँ नाघिसकेको छ । गत बुधवार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको विक्री दर १३८ रुपैयाँ ९२ पैसा तोकेको थियो ।
यो हालसम्मकै उच्च दर हो । शुक्रवार र शनिवारका लागि भने प्रतिडलर १३८ रुपैयाँ ८८ पैसा विक्री मूल्य तोकिएको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ (भारू) कमजोर भइरहेको छ । यसको प्रभाव नेपाली रुपैयाँमा पनि परेको हो ।
भारत सरकारले बजेटमार्फत पूँजीगत लाभकर बढाएपछि अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ –भारू) कमजोर हुन थालेको भारतीय सञ्चार माध्यमले विश्लेषण गरेका छन् । पछिल्लो समय भारतबाट पूँजी पलायन भइरहेको र यसले गर्दा विदेशी मुद्रा सञ्चितिसमेत घट्न थालेको भारतीय सञ्चार माध्यमले बताएका छन् । भारतीय रिजर्भ बैंकले बुधवार विदेशी मुद्रा सञ्चिति १० महीनाकै सबैभन्दा न्यून, ६ खर्ब २५ अर्ब ८७ करोड डलर पुगेको बताएको छ ।
भारतीय र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर भएकाले नेपालमा भारूको आधारमा डलरको मूल्य तय हुने गरेको छ । फलस्वरूप भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँसमेत कमजोर हुने गरेको छ ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेल डलर महँगो हुँदा विदेशी ऋणको ब्याज भुक्तानी र तेस्रो देशबाट आयात हुने वस्तु तथा सेवाको मूल्य बढ्ने बताउँछन् । यसैगरी डलर बलियो हुँदा विप्रेषण आप्रवाह, वस्तु तथा सेवा निर्यात र पर्यटकबाट हुने आम्दानीबाट भने लाभ लिन सकिने हुन्छ । तर, अहिले अर्थतन्त्रमा विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, चालू खातालगायत बाह्य सूचकहरू बलियो रहेकाले ठूलो दबाब नभएको उनको भनाइ छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११ दशमलव ४ प्रतिशतले बढेर गत मङ्सिरमा २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । चालू आवको ५ महीनाको आयातलाई आधार मान्दा यो सञ्चितिले १७ दशमलव ६ महीनाको वस्तु र १४ दशमलव ६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले बताएको छ ।