काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि आइतवार (आज) भएको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तरवार्तामा उपस्थित हुन नसकेका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तरवार्ता आउँदो बुधवार (यही असार ५ गते) हुने भएको छ ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले आइतवार (आज) सूचना जारी गरी आउँदो बुधवार बिहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता हुने जानकारी दिएको हो ।
धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये छोटो सूचीमा परेका उम्मेदवारहरूलाई व्यावसायिक कार्ययोजना र अन्तरवार्ताका लागि बोलाइएको हो ।
बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये पाँच जना छोटो सूचीमा परेका छन्, जसमा बोर्डकै कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, साविक बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाई र सन्तोष श्रेष्ठ छन् । यीमध्ये केहीको अन्तरवार्ता आज बिहान लिइएको थियो ।
कार्ययोजना प्रस्तुतीकरण तथा अन्तरवार्ताको आधारमा सिफारिस समितिले पाँच जनामध्येबाट तीन जनाको नाम सरकारसमक्ष सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद् बैठकले ३ जनाबाट १ जनालाई अध्यक्षमा नियुक्त गर्नेछ ।