काठमाडौं । केही उम्मेदवार अन्तरवार्ता तथा कार्ययोजना प्रस्तुतीकरणमा सहभागी नभएपछि अन्योलमा रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुन: अघि बढेको छ ।
अध्यक्ष नियुक्त गर्न बनेको सिफारिश समितिको असार १४ गते सम्पन्न बैठकले त्यसअघिसम्मको सबै प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । निर्णयविरूद्ध सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश र महान्यायाधिवक्ताको कार्यालयले पुरानो नियुक्ति प्रक्रिया ब्यूँताउन सकिने राय दिएपछि सरकार पुन: पुरानै नियुक्ति प्रक्रियाअनुसार अध्यक्ष नियुक्त गर्न अघि बढेको हो ।
निश्चित व्यावसायिक घरानाहरूको स्वार्थअनुरूप बोर्ड अध्यक्ष नियुक्ति गर्न लागिएको आरोपबीच संक्षिप्त सूचीमा परेका पाँचमध्ये तीन जना उम्मेदवार अन्तरवार्ता र कार्ययोजना प्रस्तुतीकरणमै सहभागी नभएपछि तत्कालीन सिफारिश समितिले नियुक्ति प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो । बोर्डमा अध्यक्ष नहुँदा थुप्रै कम्पनीको शेयरको सार्वजनिक निष्कासन रोकिएको छ ।
- यसअघिको अन्तरवार्ता र कार्ययोजना प्रस्तुतीकरणमा नआउनेलाई फेरि सहभागी हुन निम्ता
- नियुक्ति सिफारिश समितिले कम्तीमा तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिश गर्नुपर्ने
- महान्यायाधिवक्ता कार्यालयको रायअनुसार पुरानै प्रक्रियाअन्तर्गत अध्यक्ष नियुक्त गर्न पहल
- विगतमा दुईपटकसम्म अन्तरवार्तामा नगएका एकजना उम्मेदवार भन्छन्– यसपालि जान्छु
असोज १० गते धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सिफारिश समितिले एक सूचना जारी गर्दै विगतमा अन्तरवार्ता तथा प्रस्तुतीकरणमा भाग नलिएका संक्षिप्त सूचीमा परेका तीन जनालाई सोही कामका लागि पुन: बोलाएको छ ।
ऊबेला संक्षिप्त सूचीमा परेका तीन जनामध्ये सन्तोष श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्र अन्तरवार्तामा सहभागी भएका थिए । डा. नवराज अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाईं पटकपटक बोलाउँदा पनि अन्तरवार्तामा सहभागी भएका थिएनन् ।
असोज ९ गते बसेको सिफारिश समितिको बैठकले असोज १८ गते बिहान ८ बजे अधिकारी, कार्की र चापागाईंलाई अन्तरवार्ता तथा प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरेको हो ।विगतमा आफूहरूलाई कोटा पुर्याउन मात्रै अन्तरवार्ताको नाटक रचिएको भन्दै अन्तरवार्तामा सहभागी नभएका आवेदकहरू यसपालि भने सहभागी हुने मनस्थितिमा देखिन्छन् ।
यसअघि दुईपटकसम्म व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी नभएका डा. अधिकारीले यसपटक सहभागी हुने आर्थिक अभियानलाई बताए । यसअघिको अन्तरवार्ताको क्रममा अन्तरवार्ता हुनुअगावै अध्यक्ष नियुक्तिको टुंगो लागिसकेको समाचार बाहिरिएपछि अन्तरवार्तामा सहभागी नभएको उनले बताए ।
त्यसबेला एमाले अध्यक्ष र हालका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिन चाहने केही व्यावसायिक घरानाको स्वार्थअनुरूप सन्तोष श्रेष्ठलाई अध्यक्ष बनाउन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएको चर्चा थियो । केही समययता उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल त्यसबेला अन्तरवार्तामा सामेल नभएकाहरूलाई पुन: सहभागी हुनको लागि मनाउन प्रयास गरेको थिए ।
यसपटक संक्षिप्त सूचीमा परेकामध्येबाट योग्य एक जना अध्यक्ष नियुक्ति हुनेमा विश्वस्त हुँदै आफ्नो पनि दाबेदारी प्रस्तुत गर्ने भनाइ डा. अधिकारीको छ । बोर्डका कार्यकारी निर्देशक डा. अधिकारीले हाल बोर्डको दैनिक प्रशासकीय जिम्मेवारीसमेत पूरा गरिरहेका छन् । यसअघि सिफारिश समितिले दुईजना आवेदकको अन्तरवार्ता लिइसकेको हुनाले डा. अधिकारीमात्र अन्तरवार्तामा समावेश भए पनि तीन जनाको नाम सिफारिश गरी प्रक्रिया अघि बढाउन सिफारिश समितिलाई बाटो खुल्नेछ ।
पहिलो चरणका छनोटमा परेकामध्येबाट पनि सिफारिश समितिले तीन जनाको नाम दोस्रो चरणमा छनोट गर्नेछ । सिफारिश समितिले गरेको सिफारिशका आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई बोर्ड अध्यक्ष
नियुक्त गर्नेछ । यसअघि अन्तरवार्तामा सहभागी नभएका एक आवेदकका अनुसार अर्थमन्त्री विष्णु पौडेलले उनीहरूलाई भेटेर यसपटकको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी हुन आग्रह गरेका थिए । अर्थमन्त्री पौडेलले सिफारिश समितिको कार्यविधिमा भएको व्यवस्थाबमोजिम योग्य आवेदकलाई निष्पक्ष रूपमा अध्यक्ष नियुक्त गर्नेमा अर्थमन्त्रीले आवेदकहरूलाई आश्वस्त पारेको उनले बताए ।
पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डमा २०८० पुस २० गतेपछि अध्यक्ष पद रिक्त छ । उक्त पदपूर्तिका लागि सरकारले माघ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय सिफारिश समिति गठन गरेको थियो । समितिले बोर्ड अध्यक्ष नियुक्तिका लागि कार्यविधि बनाएर फागुन १६ गतेदेखि ३० गतेसम्म आवेदन माग गर्दा १९ जनाले आवेदन दिएका थिए ।
ती आवेदकमध्येबाट सिफारिश समितिले संक्षिप्त सूचीमा परेका पाँच जनालाई असार २ गते पहिलोपटक व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाएकोमा दुई जना मात्र सहभागी भए । बाँकी उम्मेदवारलाई असार ५ गते पुन: अन्तरवार्तामा बोलाएको थियो । उक्त दिन पनि तीन उम्मेदवार सहभागी नभएपछि सिफारिश समितिले महान्यायाधिवक्ताको कार्यालयबाट कानूनी राय मागेको थियो ।
अहिले पुरानै प्रक्रिया ब्यूँताए पनि बोर्डमा कस्तो नेतृत्व आउँछ, चासोको विषय बनेको छ । विगतका अध्यक्षहरूमाथि निश्चित व्यापारिक समूहको स्वार्थमा काम गरेको आरोप लागेको थियो । एकजना अध्यक्ष भीष्मराज ढुंगाना त भित्री कारोबार गरेको आरोपमा बर्खास्त नै भए ।
अहिले विभिन्न व्यापारिक समूहबाट नयाँ स्टक एक्सचेन्जको अनुमतिपत्रका लागि ३ ओटा आवेदन परेको सन्दर्भलाई नयाँ अध्यक्ष नियुक्ति प्रक्रियासँग जोडेर हेरिएको छ । नयाँ स्टक एक्सचेन्जका लागि बोर्डमा हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेड गरी तीन कम्पनीको आवेदन परेको छ । यीमध्ये योग्य एक कम्पनीले नयाँ स्टक एक्सचेन्जको अनुमतिपत्र पाउनेछ ।
हिमालयन स्टक एक्सचेन्जकोप्रवर्द्धकमा शंकर समूहअन्तर्गतका कम्पनी तथा दीपक भट्टको इन्फिनिटी होल्डिङ्स छ । यसमा अन्य ठूला व्यापारिक घराना पनि जोडिएका छन् । नेशनल स्टक एक्सचेन्जमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षद्वय उपेन्द्र महतो र जीवा लामिछानेदेखि अग्नि र केडिया समूहसम्मको लगानी छ । अन्नपूर्ण मिडियाका सञ्चालक रामेश्वर थापाले पनि अन्नपूर्ण स्टक एक्सचेन्ज सञ्चालनका लागि आवेदन दिएका छन् ।