काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि यसअघि रोकिएको प्रक्रिया फेरि अघि बढाएको छ । अध्यक्ष नियुक्तिका लागि यसअघि सर्टलिस्ट (छोटो सूची)मा परेर पनि अन्तर्वार्तामा नगएका ३ आवेदकलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।
यसअघि गत असोज १८ गते अन्तर्वार्ताका लागि बोलाइएको भएपनि अन्तिम समयमा स्थगित भएको थियो ।
अर्थ मन्त्रालयले बिहीवार सार्वजनिक सूचना जारी गर्दै छनोट सूचीमा परेर अन्तर्वार्तामा सहभागी नभएका नेपाल स्टक एक्सचेन्ज प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाई र सेबोनका कार्यकारी निर्देशक डा.नवराज अधिकारीलाई मन्त्रालयमा अन्तर्वार्ता र व्यावसायिक कार्य योजना प्रस्तुतीकरणका लागि मंसिर ९ गते बिहान ८ बजे बोलाएको छ ।
पहिलो चरणको छनोटमा परेका सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अन्तर्वार्ता दिइसकेका छन् । गत फागुनमा दरखास्त आह्वान गर्दा १९ जनामध्ये ५ जना पहिलो चरणबाट कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि छनोट भएका थिए ।
छनोटको सूचीमा परेका उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया शुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । त्यसपछि अदालतले नयाँ प्रक्रिया शुरू नगर्न अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खुलेपछि सरकारले फेरि ३ उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको हो ।
यसअघि यी ३ उम्मेदवार छोटो सूचीमा परेर पनि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन । अध्यक्ष सिफारिसका लागि अघिल्लो सरकारले राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।
सो समितिले जारी गरेको सूचनाअनुसार १९ जनाले आवेदन दिएकामा ५ जनालाई कार्यपत्र मूल्यांकन तथा अन्तर्वार्ताका लागि छनोट गरिएको थियो ।