काठमाडौं । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान)ले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छ । शुक्रबार एशोसिएनका अध्यक्ष सागर ढकाल सहितको टोलीले अर्थमन्त्री पुनलाई भेटेर धितोपत्र बजारको विकास र विस्तारका लागि आवश्यक छलफल गरेका हुन् । नवनियुक्त अर्थमन्त्रीलाई शुभकामना दिन पुगेको टोलीले बजारको वर्तमान अवस्था र यसको सुधारका आवश्यक विषयमा छलफल गरेको एशोसिएसनका महासचिव कृष्ण गिरीले बताएका छन् ।
अर्थमन्त्री समक्ष अस्थिर नीतिका कारण धितोपत्र दोस्रो बजारले गति लिन नसकेको गुनासो एशोसिएसनले राखेको समेत महासचिव गिरीको भनाई छ । धितोपत्र बजारलाई प्रत्यक्षरूपमा नियालिरहेका नवनियुक्त अर्थमन्त्री पुनले समयानुकूल नीतिमा जोड दिएर आगामी दिनमा यो बजारको विकास र विस्तारका लागि अर्थमन्त्रालयले काम गर्ने विश्वास व्यक्त गरेको समेत गिरीले जानकारी दिए ।
देशको अर्थतन्त्रलाई चलायमान बनाउन पूँजीबजारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अर्थमन्त्री पुनले पूँजीबजारको लागि आवश्यक नीति निर्माण गर्ने निकायहरूसँग समन्वय गरेर समायसापेक्ष नीतिमा जोड दिने बताएको महासचिव गिरीको भनाई छ ।
बैंक तथा वित्तीय संस्थाको बढी स्वामित्व रहेको धितोपत्र बजारमा नेपाल राष्ट्र बैंकको नीतिले प्रत्यक्ष प्रभाव पार्दै बुझाई एशोसिएसनको छ । धितोपत्र ब्रोकरहरूले अर्थमन्त्रीसँगको भेटमा राष्ट्र बैंकले मार्जिन कारोबारको सीमाका सम्बन्धमा गरेको पछिल्लो व्यवस्थाका सम्बन्धमा समेत सरकारले ध्यान दिन आवश्यक रहेको बताए ।
नेपाल राष्ट्र बैंक पनि सरकारकै एक अंक भएकाले धितोपत्र बजारमा असर पर्ने नीति निर्माण भएको पाइएमा त्यसलाई आवश्यक संशोधनका लागि समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता अर्थमन्त्रीले व्यक्त गरेको गिरीले प्रष्ट पारेका छन् । उनले अहिलेको अर्थमन्त्री धितोपत्र बजारप्रति सरकारात्मक रहेको र धितोपत्र बजारको विकास र विस्तारका लागि संवेदनशिल भएर बोर्ड अध्यक्ष नियुक्तसँगै काम अघि बढाउने बताएको जानकारी दिएका छन् । अर्थमन्त्री पुनले बोलेको कामलाई व्यवहारमा उतार्ने विश्वास पनि एशोसिएनसले लिएको छ ।