काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु स्मार्ट फण्डले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार फण्डले साउन मसान्तको तुलनामा भदौमा सूचीकृत शेयरमा लगानी बढाएको छ ।
यस फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ९८ करोड ४६ लाख लगानी गरेकोमा भदौ मसान्तमा बढाएर रू. १ अर्ब ४ करोडभन्दा बढी पुर्याएको छ । फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) भने साउन मसान्तको तुलनामा भदौ मसान्तमा घटेको छ । साउन मसान्तमा फण्डको न्याभ १४ रुपैयाँ १० पैसा रहेकोमा भदौ मसान्तमा घटेर १२ रुपैयाँ ८२ पैसामा झरेको छ ।
भदौमा फण्डको नाफा ४९ प्रतिशत घटेको छ । साउन मसान्तमा फण्डले रू. २५ करोड ७७ लाख नाफा कमाएकोमा भदौ मसान्तमा घटेर रू. १२ करोड ९७ लाखमा झरेको छ । भदौमा फण्डको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । साउन मसान्तमा फण्डको कुल आम्दानी रू. २६ करोड रहेकोमा भदौ मसान्तमा घटेर रू. १३ करोड ४० लाखमा झरेको छ ।