काठमाडौं । दक्षिण एसियाली देशहरूलाई रेलमार्गबाट जोड्न सघाउने योजना प्राथमिकतामा रहेको एसियाली विकास बैंक (एडिबी)का एक उच्च अधिकारीले बताएका छन् ।
विहिवारबाट शुरु भएको नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै बैकको भारत आवासीय कार्यालयका वरिष्ठ कार्यक्रम अधिकृत सौम्य चटोपाध्यायले रेलमार्गबाट नेपाल, भारत, बंगलादेश र भुटानलाई जोड्न सघाउन एक अध्ययन पनि एडिबीले गरेको जानकारी गराए । यस्तो रेलमार्ग वनेमा नेपाल भारत र बंगलादेशका समुद्री बन्दरगाहमा सिधै पहुँच राख्न सक्ने उनको भनाई थियो ।
दक्षिण एसियाली मुलुकहरू विच कनेक्टिभिटी वढाउन एडिबीले दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) कार्यक्रम सन् २००१ देखि चलाउँदै आएको छ ।जस अन्तरगत विभिन्न परियोजना विकास गरी नेपाल, भारत, बंगलादेश, माल्दिभ्स, भुटान, श्रीलंका र म्यानमारलाई जोड्न सहयोग गर्दछ । यस कार्यक्रम अन्तरगत यी देशहरूलाई यातायात, ब्यापार प्रवर्द्धन, उर्जा र आर्थिक कोरिडोर निर्माणमा सहयोग गरिरहेको छ ।
दक्षिण एसियामा सडकको माध्यमबाट व्यापार भइरहेकोमा अव यसलाई रेलमार्गबाट व्यापार गर्नु आवश्यक रहेको चटोपाध्ययले बताए । एडिवीले यस काममा सहयोग गर्ने प्राथमिकता रहेको उनको भनाई थियो ।
नेपालको सुदूर पश्चिम क्षेत्रको विकासको लागि भारतीय रेलमार्गसँग जोड्न अत्यावश्यक रहेको पनि चटोपाध्यायको भनाई थियो । ‘सुदूरपश्चिमको कृष्णनगर र वनवासा पारिपाटी भारतीय रेलवेले छोएको र सो रेलमा भारतका मुख्य सामुद्रिक बन्दरगाह जस्तै मुम्बईको जवाहरलाल नेहरू बन्दरगाह, गुजरातको मुन्द्रा बन्दरगाहसँग जोडिएकोले छ,’ उनले भने । ‘यदि यो रेलमार्गसँग नेपालको सुदूरपश्चिम क्षेत्र जोड्न सकिएमा त्यो क्षेत्रको विकासले गति लिनसक्छ ।’