काठमाडौं । अविरल वर्षाका कारण दर्जनभन्दा बढी जलविद्युत् आयोजनका पावरहाउस र प्रसारण लाइनमा क्षति पुगेपछि देशभरका अधिकांश स्थानमा विद्युत् आपूर्ति अस्तव्यस्त भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार १५७ मेगावाट क्षमताका लिखु–१, लिखु–२ र लिखु–ए, २८ दशमलव १ मेगावाटको तल्लो लिखु, खिम्ती, अपर खिम्ती, २२ मेगावाट क्षमताको माण्डु खोला, २२ दशमलव १ मेगावाटको तल्लो हेवाखोला, अपर तामाकोशी र दूधकोशी जलविद्युत् आयोजनाको पावरहाउसमा आंशिक तथा पूर्ण रूपमा क्षति पुगेको छ । साथै अपर सोलु, मिडिल सोलु, दूध कुण्ड, मिडिल तमोर, काबेली कोरिडोर र सानिमामाई हाइड्रोपावरको पावरहाउसमा समेत क्षति पुगेको उनले बताए । जलविद्युत् आयोजनाका पावरहाउशहरू पूर्ण तथा आंशिक डुबानमा परेपछि ती आयोजनाबाट उत्पादन हुने विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द गरिएको घोषले बताए ।
‘माइखोलामा आएको बाढीका कारण काबेली कोरिडोरमा क्षति पुग्दा दमक–गोदक १३२ केभी प्रसारण लाइनको ५१ नम्बर टावर पूर्ण रूपमा क्षतिग्रस्त भएकको छ । यसले गर्दा कोशी प्रदेशका इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ । यी सबै जिल्लामा फिदिम सबस्टेशनबाट विद्युत् वितरण भएको थियो । वितरण ठप्प भएसँगै ती सबै जिल्लाहरू अन्धकारमा छन् । ‘वर्षा अझै भइरहेका कारण त्यस क्षेत्रमा विद्युत् सेवा सुचारु हुन अझै २/३ दिन लाग्न सक्छ,’ उनले आर्थिक अभियानसँग भने ।
घोषका अनुसार तामाकोशी नदीमा आएको बाढीका कारण खिम्ती–लामासाँघु प्रसारण लाइनको एउटा टावरमा समेत क्षति पुगेको छ । उक्त प्रसारण लाइन भएर विद्युत् आपूर्ति हुने काठमाडौं उपत्यकालगायत पश्चिम नेपालका अधिकांश स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
बाढीका कारण ढल्केबर–पथलैया प्रसारण लाइन पनि अवरुद्ध भएकाले तराईका अधिकांश जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । ढल्केबर–पथलैया प्रसारण लाइन विद्युत् निर्यातका लागि समेत प्रयोग हुने मुख्य मेरूदण्ड भएकाले निर्यातमा समेत समस्या आएको
घोषले बताए ।
- दर्जनभन्दा बढी जलविद्युत् आयोजनाका विद्युत् गृह र प्रसारण लाइनमा क्षति
- कोशी प्रदेशका इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध
- ढल्केबर–पथलैया प्रसारण लाइन पनि अवरुद्ध
- काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द
- ३१ वर्षपछि भरियो कुलेखानी जलाशय
‘धेरैजसो आयोजनाबाट विद्युत् आपूर्ति अवरुद्ध भएपछि पश्चिम तराईका केही स्थानमा टनकपुरबाट ब्याकअप दिइएको छ । काठमाडौंं उपत्यकालगायत आसपासका जिल्लामा भने आलोपालो गरेर विद्युत् आपूर्ति गरिएको छ । सबैतर्फ सुचारु हुन केही दिन लाग्न सक्छ,’ घोषले भने ।
बाढीले क्षति पुर्याएका आयोजनाहरूमा कुनै पनि मानवीय क्षति नभएको र ती आयोजनाहरूमा केकति आर्थिक क्षति भयो भन्ने विवरण शनिवार रातिसम्म प्राप्त नभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको समूह नेपाल (इप्पान)का महासचिव बलराम खतिवडाले बताए । डुबानमा परेका आयोजनासँगको सहकार्यमा १/२ दिनभित्रै क्षतिको विवरण सार्वजनिक गरिने उनले बताए ।
उपत्यकामा पनि विद्युत् आपूर्ति अस्तव्यस्त
काठमाडौं उपत्यकामा अविरल वर्षाका कारण शुक्रवार रातिदेखि नै विद्युत आपूर्ति अस्तव्यस्त बनेको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका अनुसार उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करीब ४०० मेगावाट हुने गरेकोमा शनिवार दिनभर करीब २०० मेगावाटमा झरेको थियो । शनिवार साँझसम्म कतिपय स्थानमा विद्युत् आपूर्ति सुचारु भए पनि अधिकांश स्थानमा सुचारु गर्न समस्या भइरहेको प्राधिकरणले बताएको छ ।
प्राधिकरणका अनुसार उपत्यकाका मुख्य नदी तथा खोलामा बाढी आएसँगै बानेश्वर सबस्टेशनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु, च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडरहरू प्रभावित भएका छन् । भक्तपुर सबस्टेशनबाट खोपासी, नलिन्चोक र बोडे क्षेत्रमा विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् । त्यस्तै पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तीवन, चापागाउँ, खोकना, चक्रपथ, हरिसिद्धि, रेडियो नेपाल र लुभु फिडर बन्द छन् ।
प्राधिकरणका अनुसार लैनचौर सबस्टेशनबाट विद्युत् आपूर्ति दिइएको गैरीधारा फिडर बन्द छ । टेकु सबस्टेशनबाट विद्युत् आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल, सुन्धारा, कालिमाटी, चक्रपथ र चमती फिडर प्रभावित भएका छन् । यीमध्ये केही स्थानमा प्राधिकरणको टोली खटिएर विद्युत् आपूर्ति शनिवार साँझसम्ममा सुचारु गरे पनि अधिकांश स्थानमा अझै सुचारु हुन नसकेको प्रवक्ता घोषले बताए ।
अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको जलाशय ३१ वर्षपछि पहिलोपटक भरिएको प्राधिकरणले जानकारी दिएको छ । जलाशयमा पानीको सतह बढी भएर पानी स्पिल वेबाट बाहिर जान थालेपछि शनिवार बिहान ५.४५ बजेबाट बाँधका दुईओटा ढोका आंशिक रूपमा खोलिएको थियो ।
पानीको सतह बढ्न थालेपछि शुक्रवारबाटै ६० मेगावाटको विद्युत्गृहलाई निरन्तर रूपमा पूर्ण क्षमतामा चलाइएको छ । विद्युत्गृहलाई पूर्ण क्षमतामा चलाउँदा पनि जलाधार क्षेत्रमा अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता भरिएको हो । जलाशयमा पानीको तह समुद्र सतहबाट १ हजार ५३० दशमलव ९३ मिटर पुगेको छ । केन्द्र प्रमुख तारादत्त भट्टका अनुसार पानीको तह १ हजार ५३० दशमलव ३५ मीटरमा पुगेपछि बाँधका ढोका आंशिक रूपमा खोलिएको हो । बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बागमती नदीको बहाव बढ्ने हुँदा त्यस वरपरका स्थानीय बासिन्दालाई सुरक्षित र उच्च सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।