काठमाडौं । नेपाल–चीन सीमा नजिकका दुई पुल बाढीले बगाएपछि तातोपानी नाकाबाट व्यापार पूर्णरूपमा अवरुद्ध भएको छ ।
तातोपानी भन्सारको मुख्य कार्यालय जोड्ने भोटेकोशी नदीमाथिको पुल र त्यसमाथिको लिपिङ खोलाको पुल बाढीले बगाएपछि तातोपानी नाकाबाट हुने दुईपक्षीय व्यापारमा अवरोध आएको हो । तातोपानी भन्सार कार्यालयका अनुसार सामान आयात निर्यात गर्न दुई पुल प्रयोग गर्नुपर्ने हुन्छ ।
दशैंतिहारका लागि लत्ताकपडा, जुत्ताचप्पल र फलफूल आइरहेको सन्दर्भमा नाकाबाट व्यापार अवरुद्ध भएको हो । ‘कति गाडी सामान चीनतर्फ रोकिरहेका छन्, तत्काल निश्चित गर्न सकिएन पनि तिब्बतको ल्हासादेखि सीमासम्म १००–१५० जति कन्टेनर रोकिएको अनुमान छ,’ तातोपानी भन्सारका प्रमुख कमलकुमार भट्टराईले आर्थिक अभियानसँग भने, ‘स्याउलगायत छिट्टै
कुहिने वस्तु बाटैमा कुहिने सम्भावना छ ।’ कोरोना महामारीका बेला बन्द रहेको यो नाका विगत डेढ वर्षदेखि दुईपक्षीय व्यापारका लागि खुला रहँदै आएको थियो ।
नाकाबाट व्यापार पनि बढ्दै थियो । गत आर्थिक वर्ष यो नाकाबाट ४० अर्ब रुपैयाँभन्दा बढीको सामान आयात र ९३ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । चालू आर्थिक वर्ष (आव) को पहिलो २ रुपैयाँ बराबरको सामान यो नाकाबाट आयात भएको छ ।
निर्यात शून्य छ । दुईओटा पुल बाढीले बगाएपछि भने तत्काल व्यापार सुचारु हुने सम्भावना नरहेको भन्सारका अधिकारीहरू बताउँछन् । ‘यी दुईओटा पुल पुन: नबनिकन यो नाकाबाट सामान ल्याउन लैजान नसकिने हुँदा कहिले सामान्य ढंगले दुईपक्षी व्यापार सुचारु हुन्छ त्यो तत्काल भन्न सकिँदैन,’ भट्टराईले भने ।
भन्सार कार्यालयनजिकै रहेको पुल बिहान १० बजेतिर बगाएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारीसमेत रहेका भन्सार अधिकारी सूर्यप्रसाद काफ्लेले बताए । यो पुल नेपाल–चीन सीमाबाट करीब ७ किलोमीटर वर थियो । त्यसैगरी, सीमाबाट ७०० मीटर वर लिपिङ खोलामा रहेको गाडी हिँड्ने पुल पनि खोलाले बगाएको छ । ‘हामीले अझै क्षतिको विवरण प्राप्त गर्न सकेका छैनौं,’ उनले शनिवार दिउँसो आर्थिक अभियानसँग भने । सामान्य अवस्थामा ४० फिटका कन्टेनरले चीनबाट भन्सार यार्डमा सामान ल्याउँछन् । त्यसपछि सामान नेपालका ट्रकमा पुन: लोड गरी काठमाडौं पठाइन्छ । काफ्लेका अनुसार तातोपानी भन्सारले दैनिक लगभग २२ ओटा कन्टेनर प्राप्त गर्छ । तर, शुक्रवार बेलुकीसम्म ४० कन्टेनर तातोपानी भन्सार यार्डमा प्रवेश गरेको भन्सार प्रमुख भट्टराईले बताए ।
नेपालमा बिहीवारदेखि निरन्तर भारी वर्षा भइरहेको छ । देशभरका बाढीपहिरोले व्यापक मात्रामा जनधनको क्षति गराएको छ । २०७२ सालको भुँइचालोदेखि नै सिन्धुपाल्चोक जिल्लाको भूभाग बढी क्षतिग्रस्त हुने प्रवृत्ति देखिएको छ । केही वर्षअघि मेलम्ची नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो भने मेलम्ची खानेपानी आयोजनामा व्यापक क्षति पुर्याएको थियो ।
अहिले तातोपानी नाकानिरको दुईओटा पुल बगाएको छ । चाडपर्व नजिक आइसकेकाले नयाँ पुल निर्माण कार्य पनि तत्काल शुरू नहुने भएकाले व्यापारीहरू यसबाट आफूहरू मर्कामा परेको बताउँछन् ।
व्यापारीहरूले हरेक वर्ष दशैंतिहार र छठ पर्वलाई लक्ष्य गरी चीनबाट ठूलो मात्रामा सामान आयात गर्छन्, जसमा प्राय: रेडिमेड कपडा, विद्युतीय उपकरण र फलफूलहरू हुन्छन् । यस वर्षको दशैं असोज १७ गते घटस्थापनाबाट शुरू हुँदै छ ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्वअध्यक्ष अशोक श्रेष्ठले लार्चामा बेलिब्रिज बगाउँदा सीमापार व्यापारमा गम्भीर असर पर्ने बताए । ‘सरकारले पुल पुन:निर्माणका लागि तत्काल पहल गरिहाल्नुपर्छ,’ उनले भने ।
काफ्लेका अनुसार भोटेकोशी नदीले भन्सार यार्डको जगमा पनि क्षति पुर्याएको छ । ‘भन्सार यार्ड भोटेकोशी नदीको छेउमा रहेको ठूलो चट्टानमाथि बनाइएको छ,’ उनले भने, ‘तर, पहिले र अहिले आएको बाढीले उक्त चट्टानमा क्षति गर्र्दै आएको छ ।’
तिब्बतको ल्हासादेखि सीमासम्म १००–१५० जति कन्टेनर रोकिएको अनुमान छ । स्याउलगायत छिट्टै कुहिने वस्तु बाटैमा कुहिने सम्भावना छ ।