काठमाडौं । जेम्स र ज्वेलरी निकासीकर्तालाई पनि नगद अनुदान दिन व्यवसायीले माग गरेका छन् । ललितपुरमा शुक्रवार आयोजित पाटन हेरिटेज जेम्स एन्ड ज्वेलरी एक्स्पो २०२४ को उद्घाटन सत्रमा ललितपुर रत्न तथा आभूषण संघका अध्यक्ष कृष्णलाल महर्जनले जेम्स र ज्वेलरीलाई निकासीको ठूलो सम्भावना भएको वस्तु भन्दै यसमा पनि अन्य वस्तुमा जस्तै नगद अनुदान भए निर्यात बढाउन सकिने बताए । ‘जेम्स र ज्वेलरी निकासीको ठूलो सम्भावना भएको क्षेत्र हो । तर, कमजोर प्रतिस्पर्धी क्षमता, नीतिगत कमजोरी र चर्को ढुवानी लागतले त्यो सम्भावनालाई खुम्च्याइदिएको छ,’ अध्यक्ष महर्जनले भने, ‘सधैं निकासी प्रवर्द्धनको कुरा गर्ने सरकारको प्राथमिकतामा यो क्षेत्र पर्न नसकेको अनुभूति हामीले लामो समयदेखि गर्दै आएका छौं ।’
यस क्षेत्रका व्यवसायीले राज्यबाटै विभेदपूर्ण व्यवहार भएको खल्लो अनुभूतिका काम गरिरहेको गुनासो गर्दै उनले यो स्थिति चाँडै अन्त्य गर्न उद्घाटन सत्रका मुख्य अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई आग्रह गरे ।
सुन आयातमा लाग्ने भन्सार महशुल घटाउन पनि महर्जनले आग्रह गरे । भारतले चालू आर्थिक वर्षको बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार घटाएपछि नेपालको तुलनामा उता सुन सस्तो भएको र सीमावर्ती क्षेत्रका नागरिक गरगहना बनाउन पारि जान थालेका भन्दै महर्जनले मूल्य अन्तर फराकिलो हुँदा भारतबाट अनधिकृत रूपमा सुन आयात हुने जोखिम औंल्याए ।
नेपालमा पनि भारतीय बजारसरह मूल्य कायम हुने वातावरण नबनाए सुनको अनधिकृत आयात रोक्न नसकिने भन्दै उनले यसको लागि सुनको भन्सार महशुल तत्काल पुनरवलोकन गर्नुपर्नेमा जोड दिए । नेपालमा सुन आयातमा २० प्रतिशत भन्सार लाग्छ । भारतमा ६ प्रतिशत मात्र लाग्छ । सुनको भन्सार दर तत्काल संशोधन नगरे लाखौं रोजगारी र अर्बौं राजस्वको स्रोत सुनचाँदी र गरगहना व्यवसाय धराशयी हुने उनको भनाइ छ । नेपालमा पाइने बहुमूल्य रत्न र पत्थरको प्रशोधन स्वदेशमै गर्न सके ठूलो लाभ लिन सकिने पनि उनले बताए । ‘नेपालमा पाइने बहुमूल्य रत्न र पत्थर किलोको हिसाबले निर्यात हुन्छ । आयात गर्दा क्यारेटको हिसाबले आउँछ,’ महर्जनले भने । निजीक्षेत्रसँग मिलेर सरकारले स्वदेशी रत्न, पत्थरको उत्खनन, प्रशोधन र प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए । यसका लागि जेम एन्ड ज्वेलरी प्रवर्द्धन परिषद् गठन गर्नुपर्ने उनले बताए ।
सुन आयातमा लागू गरिएको कोटा प्रणाली खारेज गरी ओपन लाइसेन्स जनरल प्रणालीमा जानुपर्ने उनको माग छ । विदेशी मुद्रा सञ्चिति कीर्तिमानी बिन्दुमा पुगेका बेला सुन आयातमा कोटा प्रणाली जारी राख्नु औचित्यपूर्ण नहुने उनले बताए । महर्जनले सुनचाँदी र गरगहना व्यवसायीको सुरक्षाको उचित प्रबन्ध गर्न पनि माग गरे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनको भन्सार महशुलबाट परेको प्रभाव र निर्यातमा भएको समस्या समाधान गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भएको जानकारी दिए । ‘झन्डै तीन लाख रोजगारी सृजना भएको यस क्षेत्रका विषयमा सरकार गम्भीर छ, हामीले व्यावसायिकतामा देखिएका जटिलतालाई पनि सम्बोधन गर्नुपर्ने छ,’ उनले भने ।
कोटा प्रणालीमा आयात हुने हुँदा सुनको मागअनुसार आपूर्ति हुन नसकेको पनि उनले स्वीकारे । ‘आर्थिक मन्दीले सुनचाँदी व्यवसाय फस्टाउन सकेको छैन । विभिन्न माध्यमबाट चोरीपैठारी भएको छ । यसलाई रोक्न प्रयत्न गरिरहेका छौं,’ उनले भने, ‘कोटा प्रणालीमा आयात हुने हुँदा माग अनुसारको आपूर्तिमा पनि समस्या छ । बहुमूल्य गरगहना निर्यातका लागि सुन आपूर्ति सहज बनाउनु आजको आवश्यकता हो । यो क्षेत्रलाई निर्यात र रोजगारीको माध्यम बनाउन हामी तत्पर छौं ।’
सांसद प्रेमबहादुर महर्जनले सबै समुदायमा गरगहना प्रयोग गर्ने संस्कृति रहेको भन्दै यो एक्स्पोबाट व्यापार मात्रै नभई संस्कृति प्रवर्द्धनमा पनि मद्दत पुग्ने बताए । पाटन दरबार क्षेत्रको भण्डारखाल बगैंचामा आइतवारसम्म एक्सपो चल्नेछ ।