काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अपांगता संरक्षण नेपालसँगको सहकार्यमा ९० जना दृष्टिविहीनहरूलाई सेतो छडी प्रदान गरेको छ । मधेश प्रदेशको सप्तरीमा पूर्ण दृष्टिविहीनहरूको सहभागितामा अपांगता संरक्षण नेपालद्वारा अयोजित अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित दृष्टिविहीनलाई बैंकले सो सामग्री हस्तान्तरण गरेको हो ।
यो सानो पहलबाट दृष्टिविहीनको दैनिक कामकाज र आवतजावतमा सहजता प्राप्ति हुने विश्वास बैंकले लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले बताएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको बताइएको छ ।
बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको पनि जनाएको छ । साथै मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा ल्याइएको जानकारी दिइएको छ ।
बैंकले ६० जिल्लामा रहेका १ सय ९७ ओटा शाखा, १ सय ६२ ओटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ ओटा शाखारहित बैंकिङ इकाईबाट १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।