काठमाडौं । गत आर्थिक वर्षमा २० वाणिज्य बैंकमध्ये १० ओटाले खुद नाफा बढाएका छन् । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणले यस्तो देखाएको छ ।
कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय अवस्थालाई हेर्दा गत वर्ष २० वाणिज्य बैंकको कुल नाफा ६४ अर्ब १५ करोड रुपैयाँभन्दा बढी छ । अघिल्लो वर्ष यस अवधिसम्म यो रकम ५६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष वाणिज्य बैंकहरूको खुद नाफा भने १३ दशमलव ४० प्रतिशत बढी भएको हो ।
गत वर्ष प्रभु बैंकले सर्वाधिक प्रतिशतले खुद नाफा बढाएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म २८ करोड २ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको प्रभु बैंकले गत वर्ष सोही अवधिसम्म ४ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष प्रभु बैंकको खुद नाफा १ हजार ४९९ प्रतिशत वृद्धि भएको देखिन्छ । प्रभु बैंकको खुद नाफा गत वर्ष सर्वाधिक बढ्नुमा खुद ब्याज आम्दानीमा वृद्धि हुनुका साथै इम्पेयरमेन्ट चार्ज घट्नु छ ।
अघिल्लो वर्ष १० अर्ब ६ करोड रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको प्रभु बैंकले गत वर्ष १२ अर्ब २ करोड रुपैयाँभन्दा बढी यो आम्दानी गरेको छ । इम्पेयरमेन्ट चार्ज रकम अघिल्लो वर्ष ५ अर्ब २१ करोड रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ५५ करोड ६८ लाख रुपैयाँभन्दा बढी मात्र रहेको हो ।
प्रभु बैंकसँगै कुमारी बैंकको ३४५ दशमलन ६७ प्रतिशत, प्राइम कमर्सियलको २६७ दशमलव १९ प्रतिशत, कृषि विकास बैंकको १७६ दशमलव २३ प्रतिशत, हिमालयन बैंकको ८१ दशमलव ६० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ दशमलव ७१ प्रतिशत, लक्ष्मी सन्राइज बैंकको ३२ दशमलव ७९ प्रतिशत, नबिल बैंकको १० दशमलव २३ प्रतिशत, एभरेष्ट बैंकको १० दशमलव शून्य ७ प्रतिशत र नेपाल एसबिआई बैंकको २ दशमलव ३५ प्रतिशत खुद नाफा बढेको हो ।
गत वर्ष खुद नाफा सर्वाधिक घट्नेमा एनआईसी एशिया बैंक छ । अघिल्लो वर्ष ४ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको एनआईसी एशिया बैंकले गत वर्ष १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो । गत वर्ष एनआईसी एशिया बैंकको खुद ब्याज आम्दानी घटेको र इम्पेयरमेन्ट चार्ज बढेकाले खुद नाफामा उल्लेख्य कमि आएको हो ।
कम्पनीको वित्तीय विवरणलाई हेर्दा अघिल्लो वर्ष १२ अर्ब २५ करोड रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको यो बैंकले गत वर्ष १० अर्ब ६१ करोड रुपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको हो ।
इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्ष ७२ करोड १९ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष २ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी भएको छ । गत वर्ष एनआईसी एशिया बैंकसँगै नेपाल बैंकको ५१ दशमलव ८० प्रतिशत, सिटिजन्स बैंकको २७ दशमलव ९७ प्रतिशत, एनएमबि बैंकको २७ दशमलव ४९ प्रतिशत, माछापुच्छ्रे बैंकको २३ दशमलव शून्य ९ प्रतिशत, ग्लोबल आइएमई बैंकको १० दशमलव १३ प्रतिशत, सानिमा बैंकको ८ दशमलव ५९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ५ दशमलव ४८ प्रतिशत, सिद्धार्थ बैंकको ४ दशमलव ७८ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४ दशमलव ५१ प्रतिशत खुद नाफा घटेको तथ्याङ्क छ । खुद नाफा घटबढको प्रमुख कारण इम्पेयरमेन्ट चार्ज र खुद ब्याज आम्दानी रहेको देखिन्छ ।
रकमका हिसाबमा भने गत वर्ष नबिल बैंकले सर्वाधिक खुद नाफा गरेको छ । अघिल्लो वर्ष ६ अर्ब ४० करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको नबिल बैंकले गत वर्ष ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।
नबिल बैंकले गत वर्ष १६ अर्ब २० करोड रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ भने इम्पेयरमेन्ट चार्जबापतको ३ अर्ब २२ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता भएको छ । अघिल्लो वर्ष यस अवधिसम्म नबिलको इम्पेयरमेन्ट चार्जबापत् ५ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी रकम छुट्याएको थियो ।
बैंकको नाम | खुद नाफा गत वर्षको चौथो त्रैमाससम्म रू हजारमा | खुद नाफा अघिल्लो वर्षको चौथो त्रैमाससम्म रू. हजारमा | फरक (%) |
प्रभु बैंक | 4,480,810 | 280,219 | 1499.04 |
कुमारी बैंक | 2,308,212 | 517,921 | 345.67 |
प्राइम कमर्सियल बैंक | 3,774,302 | 1,027,899 | 267.19 |
कृषि विकास बैंक | 3,655,662 | 1,323,411 | 176.23 |
हिमालयन बैंक | 2,838,049 | 1,562,817 | 81.6 |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक | 5,198,320 | 3,720,833 | 39.71 |
लक्ष्मी सन्राइज बैंक | 3,034,539 | 2,285,239 | 32.79 |
नबिल बैंक | 7,060,033 | 6,404,936 | 10.23 |
एभरेष्ट बैंक | 3,700,648 | 3,362,115 | 10.07 |
नेपाल एसबिआई बैंक | 2,013,721 | 1967508 | 2.35 |
स्ट्यान्डर्ड चार्टर्ड बैंक | 3,308,954 | 3,465,330 | -4.51 |
सिद्धार्थ बैंक | 3,015,535 | 3,166,771 | -4.78 |
राष्ट्रिय वाणिज्य बैंक | 3,398,212 | 3,595,127 | -5.48 |
सानिमा बैंक | 2,381,941 | 2,605,793 | -8.59 |
ग्लोबल आइएमई बैंक | 6,016,216 | 6,694,358 | -10.13 |
माछापुच्छ्रे बैंक | 1,250,167 | 1,625,525 | -23.09 |
एनएमबि बैंक | 2,336,599 | 3,222,547 | -27.49 |
सिटिजन्स बैंक इन्टरनेशनल | 1,342,466 | 1,863,756 | -27.97 |
नेपाल बैंक | 1,656,831 | 3,437,578 | -51.8 |
एनआईसी एशिया बैंक | 1,381,869 | 4,444,769 | -68.91 |
जम्मा | 64,153,086 | 56,574,452 | 13.4 |