काठमाडौं । बिहीवार तीन कम्पनीहरूले संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका छन् । कामना सेवा विकास बैंकले ५१ हजार ५३४ कित्ता, हिमालयन लाइफ इन्स्योरेन्सले ४ लाख ५६ हजार ५३३ कित्ता र नेशनल लाइफ इन्स्योरेन्सले १ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् । यी तीनओटै कम्पनीले विक्रीमा ल्याएको संस्थापक शेयरको कुल कित्ता ६ लाखभन्दा बढी छ ।
यी शेयर खरीदका लागि सम्बन्धित कम्पनीको विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । कामना सेवा विकास बैंकको शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौं, हिमालयन लाइफ इन्स्योरेन्सको शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंको कानून विभागमा र नेशनल लाइफ इन्स्योरेन्सको शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन पेस गर्न सक्ने जानकारी सम्बन्धित कम्पनीहरूले दिएका छन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।