काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ लाख २० हजार ५३३ दशमलव २२ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको छ । कम्पनीले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण हुन नसकेको उल्लेखित कित्ता हकप्रद शेयर माघ २० गतेदेखि लिलामीमा ल्याएको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गरेकोमा उल्लेखित कित्ता शेयर भने वितरण हुन नसकेको हो । कुल कित्ता अवितरित हकप्रद शेयरमध्ये संथापकतर्फ २९ हजार ९७७ दशमलव ३१ कित्ता र सर्वसाधारणतर्फ २ लाख ९० हजार ५५५ दशमलव ९१ कित्ता रहेको जानकारी कम्पनीले दिएको छ ।
यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरूले माघ २७ गतेभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन दिँदा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्नुपर्नेछ । अधिकतम सीमा सर्वसाधारण र सर्वसाधारणतर्फको सम्पूर्ण कित्ता हुनेछ ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ ।
यस कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । सम्पूर्ण कित्ता हकप्रद विक्रीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँभन्दा बढी कायम हुनेछ ।