काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको आधारमा २५ प्रतिशतले हुन आउने ५० लाख ३० हजार ९०१ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले यही माघ १८ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा माघ १७ गतेसम्म कायम शेयरधनीे मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।
यो हकप्रद शेयर खरीदका लागि योग्य शेयरधनीहरूले फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीले यो हकप्रद शेयर निष्कासन तथा विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट पुस ९ गते अनुमति पाएको थियो । अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीको २५ प्रतिशत हकप्रद शेयरपछि जारी पूँजी बराबरको रकम कायम हुनेछ ।
नेपाल बीमा प्राधिकरणले गरेको पूँजी वृद्धिको व्यवस्था बमोजिम कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ पूँजी कायम गर्नुपर्ने अवस्था छ । त्यसका लागि हकप्रद शेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।