काठमाडौं। एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे र वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (वरिष्ठ डीसीईओ)मा सुदेश उपाध्याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका घिमिरेलाई आगामी वैशाख १० गतेदेखि लागू हुने गरी ४ वर्ष अवधिका लागि सीईओ पदमा र हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका उपाध्यायलाई वरिष्ठ डीसीईओ पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा दोस्रो कार्यकाल पूरा गर्न लागेका सुनिल केसीको कार्यकाल २०८२ वैशाख ९ गतेसम्मको लागि लम्ब्याइएको छ । बंैकको सञ्चालक समितिको फागुन २३ गते बसेको बैठकले केसीको कार्यकाल लम्ब्याउने निर्णय बैंक सञ्चालक समितिले गरेको हो ।
यसबीचको अवधिमा हस्तान्तरण र अधिग्रहण (हेन्डओभर र टेकओभर)को काम हुने केसीले बताए । केसीको दोस्रो कार्यकाल फागुन मसान्तमा सकिन लागेकोमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) कार्यान्वयनको मितिले ८ वर्षसम्म हुनेगरी लम्ब्याइएको बताइएको छ । बाफिया २०७४ वैशाख १० गतेदेखि कार्यान्वयनमा आएको थियो । पाटन उच्च अदालतले बाफिया कार्यान्वयनको मितिले २ कार्यकाल अर्थात् ८ वर्ष प्रमुख कार्यकारी अधिकृतमा काम गर्न पाउने व्याख्या गरेपछि उनको पदावधि लम्ब्याउने बाटो खुलेको हो ।
एनएमबि बैंक दि फिनान्सियल टाइम्स लण्डनको ‘द ब्याङ्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधि प्राप्त बैंक हो । बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।