काठमाडौं । एनएमबि बैंकले लैंगिक समावेशी कार्यस्थल विधामा ‘युएन वुमन डब्लुईपी’ अवार्ड पाएको छ । बैंकले सन् २०२४ को युएन वुमन एशिया–प्यासिफिक डब्लुईपीएस अवार्डस्अन्तर्गत उक्त अवार्ड पाएको हो ।
युएन वुमन र यूएन ग्लोबल कम्प्याक्टले कार्यस्थल र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैंगिक समानता प्रवद्र्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । ती विश्वव्यापी मापदण्ड कार्यान्वयन गर्नका लागि सक्दो प्रयास गरेको भन्दै बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा डब्लुईपीएस अन्तर्गतको यूएन वुमनद्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।
एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरूमध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको जनाइएको छ ।
यस अवार्डले एनएमबि बैंकलाई निरन्तर रूपमा समावेशी र दिगो विकास गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघि बढ्न प्रोत्साहन मिलेको बैंकले जनाएको छ ।
बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।