काठमाडौं । एनसेल फाउन्डेसनले असोजको दोस्रो हप्ता आएको बाढीका प्रभावित बागमती नदी, बल्खु क्षेत्र आसपासका ५०० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत विपद् प्रतिकार्य योजनाअनुरूप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा सहयोग प्रदान गरिएको हो ।
सीएसआरअन्तर्गत विपद् तयारी तथा प्रतिकार्यलाई प्राथमिकतामा राख्दै आएको एनसेलले जनाएको छ । फाउन्डेसनले बाढीपहिरोले असर गरेको काभ्रेको पनौती, रोशी र सर्लाहीको चक्रघट्टाका पीडित परिवारलाई राहत वितरण गरेको छ ।
फाउन्डेसनले रोशी गाउँपालिकाका ७, ८ र ११ वडाका २१५ परिवारलाई राहत वितरण गरेको हो । यसैगरी पनौती नगरपालिकाका प्रभावित ७ र ८ वडाका ७० परिवारले राहत सहयोग प्राप्त गरेका छन् । त्यस्तै बाढी प्रभावित चक्रघट्टा गाउँपालिका वडा नं ४ का ५० परिवारलाई पनि फाउन्ड्सनले हालै राहत वितरण गरेको बताइएको छ ।
यसअघि फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकामा बाढीपहिरोले क्षति पुर्याएका ४, ७, ८, १० र १३ वडाका करीब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको थियो । फाउन्डेसनले हालसम्म ५३० भन्दा बढी घरपरिवारलाई राहत सामग्री वितरण गरेको बताइएको छ ।
एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स एण्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले संकटको समयमा समुदायलाई साथ दिनु कर्तव्य भएको बताइन् ।