काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरीदविक्री मुद्दामा म्याद तामेल नभएपछि सर्वाेच्च अदालतले विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ ।
सर्वाेच्चले सोमवार (आज) एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरी विपक्षीहरू रनोल्ड्र होल्डिङ्स लिमिटेड र स्पेक्ट्रोलाइट बेलायती कम्पनीको स्वामित्व रहेको शतिश लाल आचार्यसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो ।
‘रिट निवेदक अमरेश कुमार सिंह र विपक्षी तपाईंसमेत भएको उत्प्रेषणलगायत उपयुक्त आदेश जारी गरिपाउँ भन्ने ०८०–डब्ल्युओ–०५२९ निवेदन मिति २०८०/०९/०३ मा एक न्यायाधीशको इजलाससमक्ष पेश हुँदा भएको आदेश र रिट निवेदनको प्रतिलिपि एक/एक प्रतिसमेत सूचना म्याद साथ संलग्न गरी तपाईंको नाउँमा म्याद सूचना जारी गरिएकोमा उक्त सूचना म्याद बेपत्ते तामेली भई आएकाले रीतपूर्वक म्याद तामेल हुन नसकेकाले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १०५ (२२) (२३) (२४) समेतको प्रक्रिया अनुसार सूचना प्रकाशन गर्न भन्ने मिति २०८०/१०/१९ मा भएको आदेश बमोजिम तपाईंका नाउँमा यो म्याद सूचना प्रकाशन गरिएको छ । सूचना म्याद प्रकाशन भएको मितिले १५ दिनभित्र आफू वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नुहोला,’ सूचनामा उल्लेख छ ।
तोकिएको समयमा लिखित जवाफ पेश नगरे कानूनबमोजिम कारबाही हुनेसमेत सूचनामा उल्लेख छ ।
मलेसियाली कम्पनी आजियटाले गत मंसिर १३ गते आफ्नो स्वामित्वमा रहेको एनसेलको सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेच्ने घोषणा गरेपछि उक्त खरीदविक्री रोक्न माग गर्दै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
आजियटाले एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको रेनोल्डस् होल्डिङ्स् लिमिटेडको शतप्रतिशत शेयर गैरआवासीय नेपाली सतिशलाल आचार्यको बेलायती कम्पनीलाई बेच्ने निर्णय गरेको थियो ।
आजियटाले उक्त शेयर ५० मिलियन अमेरिकी डलर (त्यो बेलाको अमेरिकी डलरको विनियमअनुसार करीब ६ अर्ब ६५ करोड रुपैयाँ)मा शेयर विक्रीको घोषणा गरेको थियो ।
सांसद सिंहले दायर गरेको रिटमा उक्त शेयर विक्री पूँजीगत लाभकर छल्ने उद्देश्यले वास्तविक भन्दा कम मूल्यमा गर्न खोजिएको दाबी गरिएको छ ।