एनसेल प्रालिको प्रमुख लगानीकर्ता टेलियासोनेराले नेपालमा ४५ अर्ब रुपैयाँ लगानी गरिसकेको बताएको छ । हाल नेपाल भ्रमणमा रहेका टेलियासोनेराका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत लार्स नैवर्गले सोमवार राजधानीमा आयोजित पत्रकार भेटघाटमा सन् २००८ यता नेपालमा ५ सय मिलियन डलर (४५ अर्ब रुपैयाँ) लगानी गरेको जानकारी दिएका हुन् । एनसेललाई नेपालको नम्बर एक मोबाइल कम्पनी बनाउन सकेकोमा गर्व महसूस गरेको उनले बताए ।
नेपालकै अर्को मोबाइल कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल)को समेत ७५ प्रतिशत शेयर यसै वर्ष खरीद गरेको टेलियासोनेराले हेलो नेपालको बजार विस्तारमा पनि आक्रामक शैली अपनाउने सङ्केत गरेको छ । टेलियासोनेराको यूरेसिया कार्यालयका अध्यक्ष टेरो किभिसारीले हेलो नेपाललाई क्षेत्रीय दूरसञ्चार कम्पनीकै रूपमा विस्तार गरिने बताए ।
न्यूनतम मूल्यमा ग्रामीण क्षेत्रका जनताको पहुँचमा गुणस्तरीय मोबाइल सेवा पुर्याउने उद्देश्यका साथ कम्पनीले हेलो नेपालमा लगानी गरेको किभिसारीले बताए । नेपालको नीतिनियम तथा कानूनको अधीनमा रहेर र नियामक निकायको निर्देशनअनुरूप नै एनसेल र हेलो नेपालले आ–आफ्नो दूरसञ्चार पूर्वाधारको साझा उपयोग गर्ने समेत किभिसारीले जानकारी दिए । टेलियासोनेराले एक साताअघि मात्रै आफ्नो वेबसाइटमा ‘नेपाल अपडेट’ प्रकाशित गरेको थियो । उक्त अपडेटमा टेलियासोनेराले नेपालमा ५ सय मिलियन डलर लगानी गरिसकेको विषय महत्त्वका साथ उल्लेख गरेको छ ।
वर्ष ७, अंक ३४७, बुधवार १३ भदौ, २०६९