काठमाडौं । एरो फर्मास्युटिकल्सले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी अघि बढाएको छ । कम्नपीले आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको हो ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी पूरा गर्ने गरी नियुक्त गरेको हो ।
चैत २८ गते क्यापिटलको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच एरो फर्मास्युटिकल्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष उद्धवप्रसाद मैनाली र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँ छ । औषधी उत्पादक कम्पनीको रूपमा रहेको यस कम्पनीको भक्तपुरको सुडालमा औषधि उत्पादन कारखाना रहेको छ । विगत ५ वर्षदेखि विभिन्न प्रकारका ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, एक्स्टर्नल लिक्विड, ड्राइ सस्पेन्सन र पाउडर औषधिहरू उत्पादन तथा विक्री वितरण गर्दै आएकोमा हाल १०७ ब्रान्डका कम्पनीद्वारा उत्पादित औषधिहरू बजारमा छन् ।
कम्पनीले विशेष रूपमा उच्च रक्तचाप-मधुमेहमा प्रयोग हुने, एन्टिबायोटिक लगायतका गुणस्तरीय औषधिहरूको उत्पादन गर्छ । कम्पनीले आफ्नो बजार विस्तारको क्रममा यसै आर्थिक वर्षदेखि जनावरमा प्रयोग हुने भेटेरिनरी औषधिहरूको पनि उत्पादन शुरु गरेको छ । यस फर्मास्यूटिकल्स कम्पनी आर्थिक वर्ष २०७१/०७२ मा प्रालिको रूपमा स्थापना भई आर्थिक वर्ष २०८०/०८१ मा पब्लिक लिमिटेड कम्पनीको रूपमा परिणत भएको हो ।