काठमाडौं । पछिल्लो समय नेपालको धितोपत्रको दोस्रो बजार घटिरहँदा नयाँ सूचीकृत कम्पनीको शेयर मूल्यमा भने निरन्तर वृद्धि देखिएको छ । पछिल्लो समय आईपीओ जारी गरी धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयर मूल्य बजार घट्दा पनि निरन्तर बढेको देखिएको हो ।
पछिल्लो साताको कारोबारलाई हेर्दा नेप्से परिसूचक २ हजार ७०० विन्दुभन्दा तल झरेको छ । बजार घटेको साता दुई लघुबीमा कम्पनी दोस्रो बजारमा थपिए । नेपाल माइक्रो इन्स्योरेन्स चैत २१ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भई चैत २६ गतेदेखि कारोबारमा सहभागी भयो । त्यसपछि चैत २७ गते क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स बजारमा थपिएसँगै चैत २८ गतेदेखि कारोबार शुरू भएको छ ।
त्यसअघि माघ २५ गते गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स दोस्रो बजारमा सूचीकृत भई माघ २७ गतेदेखि कारोबारमा आएको थियो । चालू आर्थिक वर्ष (आव) शुरू भएयता नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि स्वीकृति प्राप्त सात कम्पनीमध्ये तीनओटा दोस्रो बजारमा थपिएका हुन् ।
कुनै पनि कम्पनीको धितोपत्रको मूल्य लगानीकर्ताको माग र आपूर्तिका आधारमा निर्धारण हुन्छ । यी तीन कम्पनीको शेयर मूल्यमा देखिएको वृद्धि हेर्दा नयाँ कम्पनीको शेयर खरीदमा लगानीकर्ताको उच्च आकर्षण देखिन्छ । फलस्वरूप दोस्रो बजारमा धेरैजसो कम्पनीको शेयरमूल्य घटिरहेको अवस्थामा पनि नयाँ सूचीकृत कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि देखिएको हो ।
माघ २८ गते प्रतिकित्ता ३०१ रुपैयाँमा कारोबार भएको गार्डियन माइक्रो लाइफको शेयर मूल्य चैत २८ गते हुँदा प्रतिकित्ता २ हजार ५९९ रुपैयाँ ७० पैसा कायम भएको छ । शुरुआती दिनमा सर्किट लेबलमा मूल्य बढे पनि पछिल्ला दिनमा भने यस कम्पनीको शेयरमूल्य वृद्धि सर्किट लेबलमा
पुगेको छैन ।
गार्डियन माइक्रो लाइफपछि नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य निरन्तर सर्किट लेबलमा बढी रहेको छ । चैत २६ गते पहिलो कारोबार प्रतिकित्ता ३२० रुपैयाँ ३० पैसामा भएको नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य तीन कारोबार दिन निरन्तर सर्किट लेबलमा बढेर चैत २८ गते प्रतिकित्ता ४०२ रुपैयाँ २० पैसा कायम भएको छ । यो कम्पनीको शेयर मूल्य पहिलो कारोबार दिन ९ दशमलव ९९, दोस्रो दिन ९ दशमलव ९८ र तेस्रो दिन पनि ९ दशमलव ९८ प्रतिशत बढेको देखिन्छ ।
पछिल्लो समय दोस्रो बजारमा थपिएको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको भने १ दिन मात्र कारोबार भएको छ । प्रतिकित्ता ३०२ रुपैयाँ ५० पैसामा कारोबार खुलेको यस कम्पनीको शेयर मूल्य पहिलो दिन ९ दशमलव ९८ प्रतिशत बढेर अन्तिम मूल्य ३३२ रुपैयाँ ७० पैसा कायम भएको छ ।
पछिल्लो समय धितोपत्र दोस्रो बजारमा लाभांशका लागि भन्दा पनि पूँजीगत लाभका लागि लगानी गर्नेको संख्या बढिरहेको शेयर लगानीकर्ता संघ (नेपाल) का कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले बताए । नयाँ सूचीकृत कम्पनीको शेयर मूल्य केही समय निरन्तर बढ्ने गरेको यसअघिको तथ्यांकका आधारमा पनि लगानीकर्ताको आकर्षण पछिल्लो समय बजारमा थपिएका कम्पनीको शेयरमा रहेको फुल्लेलको भनाइ छ । उनका अनुसार बजार घट्दा पनि यी कम्पनीको शेयर मूल्य बढ्नुका पछाडि लगानीकर्ताको माग बढी हुनु हो । बजारमा लगानीकर्ताको मागलाई ध्यानमा राखी नयाँ कम्पनी थप गर्नुपर्ने पनि फुल्लेलले बताए ।
‘यतिबेला धितोपत्र बोर्डबाट आईपीओ स्वीकृति प्रक्रिया सुस्त भइरहेको छ,’ उनले भने, ‘जसले गर्दा सीमित नयाँ कम्पनीको शेयरको माग उच्च हुँदा समग्र बजारमा सकारात्मक प्रभाव पर्न सकेको छैन ।’ उनले बोर्डलाई सबै क्षेत्रका कम्पनी बजारमा समेटिने गरी आईपीओ स्वीकृतिलाई छिटो छरितो बनाउनसमेत आग्रह गरे ।
यतिबेला बोर्डलाई आईपीओ स्वीकृत गर्न सार्वजनिक लेखा समितिको निर्देशन बाधक बनेको छ । बोर्डका एक उच्च अधिकारीले लेखा समितिको निर्देशनबमोजिम ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई मात्र आईपीओ अनुमति दिनुपर्ने कारण केही ढिलाइ भएको बताए ।
नेटवर्थको विषय उठिसकेपछि पनि केही कम्पनी आईपीओ अनुमति माग्न आएकाले प्रक्रिया पूरा गरेकाको हकमा निरन्तर स्वीकृति प्रक्रिया अघि बढ्ने ती अधिकारीले बताए । उनको भनाइले बोर्डले आईपीओ स्वीकृति नदिएको भन्दा पनि नेटवर्थको सीमा पार गर्ने कम्पनीको संख्या कम रहेको बुझिन्छ । हाल बोर्डमा आईपीओ अनुमति माग गर्दै ८३ कम्पनी पर्खिरहेका छन् ।