काठमाडौं । एशियन कंक्रीटो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
आईपीओ निष्कासन गर्नका लागि दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । जसमा एशियन कंक्रीटोको अध्यक्ष तथा प्रबन्ध निर्देशक मनिष रुङ्गटा र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले जारी पूँजीको २० प्रतिशतले हुन आउने रू. ९ करोड ३७ लाख ५० हजार बराबरको ९ लाख ३७ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले अंकित मूल्यमै आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीको जारी पूँजी रू. ४६ करोड ८७ लाख ५० हजार रहेको छ । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।