काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले लिलामी प्रक्रियाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले यसअघि मङ्सिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको ३२ लाख १७ हजार ७२४ कित्ता हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गरेको थियो ।
सर्वसाधारण तर्फको उक्त शेयर कम्पनीले माघ ९ गतेदेखि २३ गतेसम्म लिलामीमा विक्री गरेको थियो । सो अवधिसम्म प्राप्त शिलबन्दी बोलपत्र माघ २७ गते खोली फागुन २ गते कम्पनीको सञ्चालक समितिको बैठकले बाँडफाँट गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ तोकिएको यी शेयर बाँडफाँटको कटअफ मूल्य भने १५१ रुपैयाँ ३५ पैसा छ । उक्त मूल्यमा बोलपत्र पेस गर्नेको हकमा सापेक्षिक भारअनुसार समानुपातिक रूपमा बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धकले दिएको छ । बाँडफाँटमा नपरेको शेयर बापतको रकम फागुन ६ गतेदेखि फिर्ता भुक्तानी गर्ने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले विद्यमान चुक्ता पूँजी ५५ करोड रुपैयाँको आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । सो अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद विक्री खुला गरेकोमा पुस २५ गते ७७ लाख ८२ हजार २७६ कित्ता हकप्रद शेयर बाँडफाँट भएको थियो ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । २०० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । कम्पनीले सांग्रिला उर्जा लिमिटेडले निर्माण गर्न लागेको ६३ मेगावाट क्षमताको छुजुङ्गखोला जलविद्युत आयेजनामा लगानी गर्नका लागि हकप्रद शेयर निष्कासन गरेको हो ।