वीरगञ्ज । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ६ महीनामा वीरगञ्ज महानगरपालिकाको आन्तरिक राजस्व घटेको छ ।
चालू आव साउनदेखि पुससम्म्को अवधिमा अघिल्लो आवको समीक्षा अवधिको तुलनामा कम भएको हो । महानगरपालिका राजस्व महाशाखाले गत आव २०८०/८१ को साउनदेखि पुससम्म २६ करोड ९० लाख ९१ हजार ४४४ राजस्व सङ्कलन भएकोमा चालू आवको सो अवधिमा २६ करोड १ लाख ७० हजार ८८२ उठेको जनाएको छ ।
पुस मसान्तसम्ममा सम्पत्तिकर १० करोड ४६ लाख ३४ हजार ८०१ सङ्कलन भएको राजस्व महाशाखा अधिकृत नवराज थापाले चालू आवको बताए। गत आवमा सम्पत्तिकर १० करोड ४९ लाख ८३ हजार ३४० रुपैयाँ संकलन भएको थियो ।
भूमि र मालपोत कर ५५ लाख १७ हजार १५, घरबहाल कर तीन करोड ४६ लाख ८० हजार ७८४, बहाल बिटौरी कर १३ लाख ४९ हजार ४३५, सवारीसाधन कर ६ लाख ९२ हजार ९० उठेको महानगरले बताएको छ ।
पूर्वाधार कर ५ हजार ९००, बाँडफाटबाट प्राप्त हुने विज्ञापन कर २५ लाख एक हजार ८५०, अन्य मनोरञ्जन कर ६ लाख ८५ हजार १९२, व्यवसाय रजिस्टे«शन दस्तुर एक करोड ४० लाख १४ हजार र आखेटोपहारमा लाग्ने कर एक करोड तीन लाख ३४ हजार संकलन भएको राजस्व महाशाखाले बताएको छ ।
सरकारी सम्पत्ति बहालबाट प्राप्त आय २ करोड १० लाख चार हजार ६२८, अन्य स्रोतबाट प्राप्त बाँडफाँट नहुने रोयल्टी ६४ लाख ४२ हजार ५००, निजी धाराबापतको शुल्क १० हजार ५०, अन्य सेवा शुल्क एक करोड ७४ लाख ७६ हजार ४८४, परीक्षा शुल्क ४३ हजार ७००, अन्य प्रशासनिक सेवा शुल्क २६ लाख ८३ हजार ५४७, नक्शापास दस्तुर एक करोड ७३ लाख ६२ हजार ७५४ र सिफारिश दस्तुर ९३ लाख ६७ हजार ५०२ रुपैयाँ आएको छ ।
त्यस्तै व्यक्तिगत घटना दर्ता दस्तुर १२ लाख ७७ हजार ८९८, नाता प्रमाणित दस्तुर आठ लाख ७१ हजार ६२०, अन्य दस्तुर ८७ हजार ९३०, प्रशासनिक दण्ड जरिवाना र जफत २१ लाख ४९ हजार ५९७, बेरुजू २९ लाख ६७ हजार ५५० संंकलन भएको राजस्व महाशाखाले जनाएको छ ।