अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ थप बलियो भएको छ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि डलरको विक्रीदर ८७ रुपैयाँ १५ पैसा तोकेको छ । यो अघिल्लो दिनको तुलनामा १५ पैसाले कम हो । राष्ट्र बैंकले मंगलवारका लागि डलरको सटहीदर ८७ रुपैयाँ ३० पैसा तोकेको थियो । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा केही बलियो भएपछि नेपाली रुपैयाँ पनि बलियो भएको हो । भारतीय केन्द्रीय बैंकले मंगलवारका लागि १ अमेरिकी डलर बराबर ५४ दशमलव ३२ भारू विनिमय दर तोकेको थियो । मंगलवार नेपाली बजारमा ८७ रुपैयाँ १० पैसादेखि ८७ रुपैयाँ ४० पैसासम्ममा डलरको कारोबार भएको छ । सो दिन हिमालय र नेपाल इन्भेष्टमेन्ट बैंकले ८७ रुपैयाँ १० पैसामा डलर बेचेको जानकारी दिएका छन् । एभरेष्ट, नबिल र सानिमा बैंकले ८७ रुपैयाँ १५ पैसामा डलर बेचेका छन् भने बैंक अफ काठमाण्डूले ८७ रुपैयाँ २५ पैसा र सिभिल बैंकले ८७ रुपैयाँ ४० पैसा विनिमय दर निर्धारण गरेका छन् ।
वर्ष ८, अंक ८४, बुधवार २७ मङ्सिर, २०६९