काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक)को अवसरमा विभिन्न बैंक तथा वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम गरिरहेका छन् । यसै अवसर पारेर कृषि विकास बैंकले दुर्गम जिल्ला कालिकोटमा स्थानीय सर्वसाधारण तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको छ ।
शुक्रवार बैंकका उप–महाप्रबन्धकमा प्रताप सुवेदीले कालिकोटको नरहरीनाथ गाउँपालिकास्थित नन्दादेवी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका उप–महाप्रवन्धक सुवेदीले प्रविधिमैत्री वैकिङ कारोवार नै आजको आवश्यक्ता बनेकाले यसबारेमा सबैले ज्ञान लिन जरुरी रहेको बताए । विद्यार्थीहरुले वित्तीय साक्षरता सम्बन्धी ज्ञान राख्नु पर्नेमा पनि सुवेदीले जोड दिए । विद्यार्थी जीवनमा नै वित्तीय साक्षरता सम्बन्धी ज्ञान हुदाँ विद्यार्थीलाई बैंक खाताको महत्व,खाताबाट कारोबार गर्दा हुने फाईदा कारोबारो गर्दा अपनाउनु पर्ने सावधानीबो पनि राम्रो ज्ञान प्राप्त हुनेभएकाले अझ धेरै राम्रो हुने उनको भनाइ थियो ।
बैंकका सेवाहरु, विद्युतिय वैंकिङ सेवा, कर्जा निक्षेप, एजेन्सी सेवा लगायत अन्य विषयका सम्बन्धमा प्रकाश पार्दै उप–महाप्रवन्धक सुवेदीले विद्यार्थीलाई बैंक खाताको महत्व,खाताबाट कारोबार गर्दा हुने फाईदा कारोबारो गर्दा अपनाउनु पर्ने सावधानी,पारिवारिक खर्चको लेखा पालनबारेमा पनि जानकारी दिएका थिए ।
उक्त कार्यक्रममा नरहरीनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट, विभिन्न वडाका वडाध्यक्षहरु, नन्दादेवी बहुमुखि क्याम्पसका संचालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख, प्राध्यापक, स्थानीय राजनीतिक दलका नेता तथा प्रतिनिधि र स्थानीय सर्वसाधारण गरी तीन सय बढीको उपस्थिती रहेको बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्था मार्फत अनलाइन कारोबार गरी नगद रहित समाजको सृजना गर्दै हरित मुद्राका माध्यमबाट वातावरण संरक्षणमा योगदान दिने यस कार्यक्रमको उद्देश्य रहेको कार्यक्रमका अध्यक्ष तथा बैंकका प्रदेश निर्देशक डा.सुरोज टण्डनले बताए । बैंकले ‘नुन देखी सुनसम्मस बहुआयामिक सेवा प्रवाह गर्दै आइरहेकाले बिद्यार्थिहरुलाइ बैकमा खाता खोली बैंक संग जोडिन समेत उनले आग्रह समेत गरे ।
विश्व वित्तीय सप्ताह ‘(ग्लोबल मनि विक) किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाइने अभियान हो । यस सप्ताह अन्तर्रगत नेपालमा पनि मार्च २२ देखि २८ सम्म विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । नेपालले पनि यस वर्ष विभिन्न कार्यक्रम गरी मार्च २२ देखि २८ सम्म मनाउँदैछ । कृषि विकास बैंकले देशकै दुर्गम मध्ये कालिकोटमा केन्द्रिय स्तरको कार्यक्रम नै आयोजना गरेको हो । त्यसअघि बैंकले सुर्खेतमा पनि कार्यक्रम सम्पन्न गरिसकेको छ ।