काठमाडौं। नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२५’ को अवसरमा सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बैंकले विद्यार्थी र युवा केन्द्रित कार्यक्रम सञ्चालन गरी ‘ग्लोबल मनी विक २०२५’ मनाएको हो । मार्च १७ देखि २३ तारिखसम्म विश्वभर ‘थिंक बिफोर यु फलो, वाइज मनी टुमरो’ मूल नारासहित ग्लोबल मनी विक सञ्चालन गरिएको थियो । यस अभियानअन्तर्गत बैंकले विभिन्न स्थानमा ४ हजारभन्दा बढी विद्यार्थी र युवामाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो ।
बैंकले विद्यार्थी तथा युवालाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउन तथा ‘फाइनान्सियल इन्फ्लुएन्सर्स’को लहलहैमा लागेर लगानी गर्न नहुनेबारे जानकारी दिन वित्तीय साक्षरता अभियान सञ्चालन गरेको थियो । कार्यक्रममा बचत, बजेट, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षालगायतका विषयमा जानकारी गराइएको बैंकले जानकारी दिएको छ ।
बैंकले सञ्चालन गरेको उक्त अभियानबाट कोशी प्रदेशका ७४४, मधेश प्रदेशका १ हजार ६३, बागमती प्रदेशका ४४१, गण्डकी प्रदेशका ४३४, लुम्बिनी प्रदेशका ५०६, कर्णाली प्रदेशका ४०५ र सुदूरपश्चिम प्रदेशका ४०७ विद्यार्थी तथा युवा वित्तीय साक्षरता कक्षामा सहभागी भई लाभान्वित भएको बैंकले जानकारी दिएको छ ।
बैंकले वित्तीय साक्षरता विस्तार तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्ने उद्देश्यले वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै सामाजिक उद्यमशीलता विकासका लागि बैंकले ‘नबिल एसएसई’ लगायतका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ । युवा तथा विद्यार्थीलाई लक्षित गरी सहुलियत ब्याजदरमा शैक्षिक कर्जा, युवा उद्यमशील कर्जा प्रवाह पनि गरिरहेको बताइएको छ ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । बैंकले विशेष गरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ । बैंकको उक्त प्रयासबाट विभिन्न समुदायका हजारौं मानिसको जीवनमा सकारात्मक सुधार हुनुका साथै वातावरण संरक्षणतर्फ ठोस कदम अगाडि बढाउन सहयोग पुगेको बताइएको छ ।