काठमाडौं। गोल्छा गु्रपद्वारा प्रस्तुत ‘ग्लोकल टिन हिरो नेपाल २०२४’को दशौं संस्करणको आइतवार आवेदन खुला गरिएको छ । ग्लोकल टिन हिरोले विगत एक दशकदेखि किशोरकिशोरीमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई पहिचान गर्न सघाउँदै आएको छ ।
ग्लोकलले १३ देखि १९ वर्षका किशोरकिशोरीहरूको पहल, सृजनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ ।
यस उपाधिको माध्यमबाट किशोरकिशोरीमा उद्यमशील सोच विकास एवं रचनात्मक शुरुआतका लागि थप ऊर्जा प्रदान गर्ने बताइएको छ । हालसम्म नेपालका ९ जना किशोरकिशोरीलाई ग्लोकल टिन हिरो नेपालका रूपमा सम्मानित गरी सकिएको छ । दक्षिण एशियाका अन्य देशमा यसको पहुँच विस्तार गर्ने दृष्टिकोणका साथ, ग्लोकल टीन हिरो भारतमा २०१९ मा, श्रीलंकामा २०२० मा, र बंगलादेशमा २०२२ मा शुरू गरिएको थियो । इच्छुक प्रतिभावान किशोरकिशोरीले ग्लोकनको वेबसाइटमार्फत आवेदन दिन सक्ने बताइएको छ ।