जेठ ४, काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले जेठ २७ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले अनुपम फुडल्याण्ड एण्ड व्याङक्वेट, बत्तिसपुतली, काठमाडौंमा बिहान ११:३० बजे सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साथै, सञ्चालक समितिमा रित्त हुन गएको संस्थापक शेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ सञ्चालक बाँकी कार्यकालका लागि नियुक्ती गरिएको विषयलाई पनि सभामार्फत स्वीकृति प्रदान गरिनेछ ।
सञ्चालक समितिले नियुक्त गरेको स्वतन्त्र सञ्चालकको जानकारी समेत सभामा गराउने कार्यक्रम समेत कम्पनीले तय गरेको छ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन ।
साधारण सभा प्रयोजनका लागि जेठ १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।