काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमाससम्म २४ करोड ६८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म २१ करोड १३ लाख रुपयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष करिब १७ प्रतिशत बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज रकम ३ करोड ६० लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले इम्पेरमेन्ट चार्जवापत्को १८ करोड ९५ लाख रुपैयाँ फिर्ता पाएको थियो ।
९८ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष रकम २ अर्ब ८० लाख रुपैयाँ छ । कर्जा सापटी यस अवधिसम्म १२ करोड ९६ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको कर्जा प्रवाह भने १२ अर्ब ३७ करोड २९ लाख रुपैयाँ छ । कम्पनीले तेस्रो त्रैमाससम्म ३ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । गत वर्ष ६ दशमलव ९८ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर ४ दशमलव ४२ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ४९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २८२ रुपैयाँ ४८ पैसा छ ।