काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ७६ लाख २८ हजार नाफा कमाएको छ ।
गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. २ लाख ३३ हजार नोक्सानीमा थियो । चालू आवमा विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले र वित्तीय खर्च घटेकाले कम्पनी नाफामा गएको हो । गत आवमा कम्पनीको विद्युत विक्री बापतको आम्दानी रू. ४ करोड ७८ लाख रहेकोमा चालू आवमा बढेर रू. ५ करोड ३१ लाख पुगेको छ ।
त्यस्तै कम्पनीको वित्तीय खर्च गत आवमा रू. ३ करोड १ लाख रहेकोमा चालू आवमा रू. २ करोड ६० लाखमा झरेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ २४ पैसा, प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ३६ पैसा रहेको छ । कम्पनीको चुक्ता पूँजी रू. ३४ करोड रहेको छ । जगेडा कोष भने रू. ८९ लाख ५५ हजार ऋणात्मक छ ।