काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुुसार यस वर्ष कम्पनीको खुद नाफा ७१ प्रतिशत बढेको हो । गत वर्ष १० करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष १८ करोड १६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।
सञ्चालनबाट प्राप्त भएको आम्दानी २० प्रतिशत बढेको छ भने कुल आम्दानी १४ दशमलव ४० प्रतिशत बढेको छ । गत वर्ष ५३ करोड ११ लाख रुपैयाँभन्दा बढी रहेको सञ्चालनबाट प्राप्त आम्दानी यस वर्ष ६३ करोड ८५ लाख रुपैयाँभन्दा बढी भएको छ । कुल आम्दानी भने गत वर्ष ६२ करोड ४३ लाख रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ७१ करोड ४२ लाख रुपैयाँभन्दा बढी छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ छ । जगेडा कोष रकम गत वर्षभन्दा ५९ दशमलव ४१ प्रतिशत बढेर ८६ करोड १० लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ २५ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ६४ पैसा छ ।