काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरूमध्ये हालसम्ममा जम्मा ५ कम्पनीले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । ग्रामीण विकास लघुवित्त ,आरएसडिसी लघुवित्त, हिमालयन लघुवित्त, गुराँस लघुवित्त र सर्पोट लघुवित्तले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन ।
वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्त कम्पनीहरूमध्ये सबैभन्दा अगाडि ग्रामीण विकास लघुवित्त रहेको छ । यस कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ८ करोड ७९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३० प्रतिशत वृद्धि हो । सो अवधिमा कम्पनीले रू. ६ करोड ७३ लाख नाफा कमाएको थियो ।
त्यस्तै दोस्रोमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालू आवको तीन महीनामा रू. २ करोड ६० लाख नाफा कमाएको छ । यस कम्पनीको नाफा भने गत आवको पहिलो त्रैमासको तुलनामा ३५ प्रतिशत कमी हो । सो अवधिमा कम्पनीले रू. ४ करोड ७ लाख नाफा कमाएको थियो ।
हिमालयन लघुवित्तले पहिलो त्रैमासमा रू. १ करोड ३४ लाख, गुराँस लघुवित्तले रू. १ करोड १ लाख र सर्पोट लघुवित्त वित्तीय संस्थाले रू. २६ लाख नाफा कमाएको छ ।
पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सबैभन्दा बढी प्रतिशेयर आम्दानी हुनेमा गुराँस लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ०९ पैसा रहेको छ ।
त्यस्तै हिमालयन लघुवित्तको १६ रुपैयाँ ८८ पैसा, आरएसडिसी लघुवित्तको ११ रुपैयाँ, ०५ पैसा, सर्पोट लघुवित्तको ९ रुपैयाँ ६९ पैसा र ग्रामीण विकास लघुवित्तको ८ रुपैयाँ ९५ पैसा रहेको छ ।