काठमाडौं। हिमालय एअरलाइन्स्ले चिनियाँ ऐतिहासिक शहर ल्हासाबाट पोखरामा सेड्युल उडान शुरू गरेको छ । नेपाल र चीनको संयुक्त लगानी रहेको यस कम्पनीले सोमवारदेखि ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा शुरू गरेको हो । ल्हासाबाट नेपालको पर्यटकीय राजधानी पोखरासम्मको सेड्युल उडान सेवाले नेपाल र चीनबीचको हवाई सम्पर्क सुदृढ बनाउने कम्पनीले बताएको छ । नेपाल–चीन हवाई सेवा विस्तारमा यो महत्त्वपूर्ण कोसेढुंगा भएको कम्पनीको भनाइ छ ।
‘नेपालको पर्यटन उद्योग प्रवर्द्धन र अन्तरराष्ट्रिय हवाई यात्रामा टेवा पुर्याउन प्रतिबद्ध हिमालय एअरलाइन्सले निर्बाध र सुविधाजनक यात्रा विकल्प प्रदान गर्न आफ्नो उडान सञ्जालको विस्तार जारी राखेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ल्हासा–पोखरा–ल्हासा उडानले नेपाललाई विश्वसँग जोड्ने, सांस्कृतिक आदानप्रदानलाई सहज बनाउने र दुवै गन्तव्यहरूको पर्यटन वृद्धिमा सघाउने कम्पनीको प्रतिबद्धता सार्थक बनाएको छ ।’
उडान थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । आगामी दिनमा मागका आधारमा काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सेक्टरमा उडान गरिने बताइएको छ । ल्हासा–पोखरा–ल्हासा उडानले यात्रुलाई नेपालको पर्यटन राजधानी पोखरा र चीनको ऐतिहासिक तथा मनोरम शहर ल्हासाबीच सीधा र सहज हवाई सेवा दिने हिमालय एअरलाइन्स्ले बताएको छ । यो रूटमा उडान शुरू भएसँगै सुस्त ग्रीष्मकालीन सिजनमा समेत पर्यटक आवागमन बढ्ने अपेक्षा गरिएको छ ।
हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ एनयोङले पोखरा अन्तरराष्ट्रिय विमानस्थल र ल्हासा बीच सीधा उडान समग्र पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण शुरुआत भएको बताए । ‘यो ऐतिहासिक उपलब्धि हिमालय एअरलाइन्स् र नेपालको उड्डयन उद्योगका लागि एक ठूलो सफलता हो, जसले पोखरालाई प्रमुख अन्तरराष्ट्रिय प्रवेशद्वारको रूपमा स्थापित गर्दै क्षेत्रीय हवाई सम्पर्क सुदृढ बनाउनेछ,’ उनले भने, ‘यो केवल नयाँ हवाई रूट मात्र नभई नेपाल–चीन सम्बन्ध थप बलियो बनाउने, पर्यटन प्रवर्द्धन गर्ने तथा व्यापार र सांस्कृतिक आदानप्रदानका नयाँ अवसर सृजना गर्ने महत्त्वपूर्ण पहल पनि हो ।’ हिमालय एअरलाइन्स््का उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले कम्पनीको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र वार्षिक १० लाख चिनियाँ पर्यटकलाई नेपालमा भित्र्याउनेने रहेको बताए ।