काठमाडौं । हिमालयन क्यापिटल र सिभिल क्यापिटल मार्केटले एकै दिन वार्षिक साधारणसभा आह्वान गरेका छन् । हिमालयन क्यापिटलले १६औं र सिभिलले १५औं वार्षिक साधारणसभा असोज २६ गते आयोजना गर्ने भएका हुन् ।
हिमालयनले काठमाडौंको ठमेलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा र सिभिलले काठमाडौंको सीटीसी महलमा क्रमशः बिहान ११ बजे र मध्याह्न १२ः३० बजेबाट साधारण सभा गर्ने भएका छन् ।
हिमालयन क्यापिटलको सभाबाट सिभिल कयापिटललाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिन लागिएको छ । प्राप्तिपश्चात प्रबन्धपत्र तथा नियमावलीमा संशोधन लगायतका कार्य गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभाबाट अनुमोदन गरिने भएको छ ।
त्यस्तै सभाले स्वतन्त्र तथा महिला सञ्चालक पुनः नियुक्ति गर्ने प्रस्ताव पारित गर्ने बताइएको छ ।
दुवै कम्पनीको सभामा आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन छलफल गरी पारितका लागि पेस गरिनेछन् । साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने बताइएको छ ।