काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सोही बैठकले आगामी माघ १८ गते १६औं साधारण सभा गर्ने जानकारी दिएको छ । सभा काठमाडौंको गैरीधारास्थित सिल्भर ओक ब्यांक्वेटमा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचनसमेत गर्नेछ ।
सभाले नियमनकारी निकायको प्रस्तावित विषयउपर कुनै फेरबदल, संशोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ ३ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा माघ २ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।