काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमास अर्थात् तीन महीनामा रू. २४ करोड १३ लाख नाफा कमाएको छ ।
यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३५ दशमलव ३८ प्रतिशतले वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. १७ करोड ८३ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २४ करोड १३ लाख पुगेको हो ।
चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल आम्दानी १२ दशमलव ८१ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले कुल रू. ५ अर्ब १७ करोड आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ५ अर्ब ८३ करोड पुगेको हो ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८९ पैसा रहेकोमा चालू आवमा बढेर १२ रुपैयाँ ०४ पैसा पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ८ अर्ब २ करोड छ । पहिलो त्रैमाससम्ममा कम्पनीले रिटेन्ड अर्निङमा रू. १ अर्ब १५ करोड र महाविपत्ति कोषमा रू. ४७ करोड ६ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ३२ दशमलव ३० गुणा र प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ६२ पैसा छ ।