काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले जेठ २५ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । जेठ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणसँगै लाभांश प्रस्तावलाई पारित गर्नेछ ।
वैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको चुक्तापूँजी हाल १० अर्ब ४० करोड रुपैयाँ छ । आगामी माघ मसान्सम्म कम्पनीलाई २० अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । कम्पनीले गत वर्षको तुलनामा यस वर्ष केही बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
उल्लेखित प्रस्तावसँगै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गाएर प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपरे त्यसको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले जेठ ११ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ १० गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न पाउनेछन् ।