काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकथन’ आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रूचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गरी सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवा विकासका लागि यो प्रतियोगिता गरिने भएको हो ।
साथै ह्याकथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवा र यसका चुनौतीको समाधान खोज्नेसमेत बताइएको छ । प्रतियोगिताका सहभागीले बैंकले तोकेका विभिन्न विषयमा केन्द्रित रही आफ्ना धारणा प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसरसमेत प्रदान गरिने बताइएको छ । बैंक प्रविधि अनुकूल वित्तीय सेवा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताइएको छ । डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउन नवीनतम धारणालाई प्रोत्साहित गर्न ह्याकथनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेे विश्वास बैंकको छ । प्रतियोगितामा सहभागी हुन बैंकको वेबसाइटमार्फत दर्ता गर्नुपर्ने बताइएको छ । दुई चरणमा हुने ह्याकथनअन्तर्गत पहिलो चरणमा अनलाइन पेपर प्रस्तुति र दोस्रो चरणमा अनसाइट ह्याकथन हुनेछ । पहिलो चरणको लागि प्रतियोगीले अप्रिल ४ सम्ममा अनलाइन पेपर प्रस्तुति गर्नुपर्ने र दोस्रो चरणअन्तर्गत मे १ मा अनसाइट ह्याकथन हुने बताइएको छ ।