काठमाडौं । इजरायलको हवाई हमलामा लेबनानमा एकैदिन ४९२ जनाको मृत्यु भएको छ ।
भारतीय समाचार संस्था ‘दहिन्दुडटकम’का अनुसार आक्रमणमा मारिनेमा ९० भन्दा बढी महिला र बालबालिका छन् । उक्त आक्रमणमा १ हजारभन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो आक्रमण सन् २००६ मा इजरायल–हिजबुल्लाह युद्धयताकै सबैभन्दा ठूलो हो ।
हिजबुल्लाहले पनि सोमवार इजराइलका उत्तरी भूभागहरूमा रकेट प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इजरायलले हिजबुल्लाहविरूद्धको कारबाही भन्दै अघिल्लो मंगलवारयता लेबनानमा विभिन्न तरिकाको आक्रमण गर्दै आएको थियो ।
गत हप्ता लेबनानमा सञ्चार उपकरणहरू (पेजर र वाकीटकी) विस्फोट गराइएको थियो । अघिल्लो मंगलवार लेबनानका केही ठाउँमा हिजबुल्लाह समूहका सदस्यले बोकेका पेजरहरू एकसाथ विस्फोट भएका थिए । उक्त विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने २ हजार ८०० भन्दा बढी घाइते भएका थिए।
त्यसको भोलिपल्ट (गत बुधवार) लेबनानमा हिजबुल्लाह सदस्यले बोकेका वाकी–टकी विस्फोट भएको थियो । उक्त विस्फोटमा कम्तीमा २० जनाको मृत्यु र ४५० जनाभन्दा बढी घाइते भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सीको सहयोगमा