काठमाडौं। इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेस प्रालिले दुईदिने ‘मरिन इन्स्योरेन्स कार्यशाला’ सम्पन्न गरेको छ । कम्पनीले बुधवार र बिहीवार काठमाडौंमा कार्यशाला सम्पन्न गरेको हो । कार्यशालामा १२ इन्स्योरेन्स कम्पनी, २ रिइन्स्योरेन्स, इन्स्योरेन्स ब्रोकर कम्पनी र सर्भेयरका प्रतिनिधि सहभागी थिए । कार्यक्रममा नेपाल बीमक संधका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कार्यकारी प्रमुख चंकी श्रेष्ठ, नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष प्राडा फत्तबहादुर केसी, नेपाल बीमा प्राधिकरणका पूर्व कार्यकारी प्रमुख राजुरमण पौडेल लगायतको उपस्थिति थियो ।
कार्यक्रममा भारतीय बीमा प्रशिक्षक समिरन लाहिरीले प्रशिक्षण दिएको बताइएको छ । कार्यशालामा मरिन इन्स्योरेन्सका नीति, अभ्यास तथा अन्तरराष्ट्रिय मापदण्डलाई गहन रूपमा छलफल गरिएको बताइएको छ । साथै यस क्षेत्रमा देखिएका चुनौती र अवसरको समीक्षा, मरिन इन्स्योरेन्सको आवश्यकता र जोखिम व्यवस्थापनको बारेमा पनि छलफल भएको थियो । कार्यक्रममा कम्पनीका कार्यकारी अध्यक्ष कुमारबहादुर खत्रीले मरिन इन्स्योरेन्सको महत्त्व र आवश्यकताबारे प्रकाश पार्दै आफूले सिकेको ज्ञानलाई बीमा क्षेत्रमा लागू गरेर नेपाली बीमा बजारलाई विश्वासिलो बनाउन सहभागीलाई आग्रह गरे ।